वडा अध्यक्षले काम नगर्ने ठेकेदारलाई कार्यालयमै थुने !


काठमाडौं । प्रायः हरेक स्थानीय तहमा विकास निर्माणमा ढिलासुस्ती हुने गरेको छ । तर विकास निर्माणको ठेक्का लिने ठेकेदारलाई कारबाही हुने गरेको छैन । एक वडाध्यक्षले भने काम नगर्ने ठेकेदारलाई कार्यालयमै थुनेर सजाय दिएका हुन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले निर्माण व्यवसायीसहित उसका प्रतिनिधिलाई वडा कार्यालयमा थुनिदिए । वडा अध्यक्ष धिमालले ठेकेदारलाई थुनेपछि त्यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई दिएका थिए ।

‘पूर्वाधार विकास कार्यालय र नगरपालिकाका जनप्रतिनिधिले भोलि बिहान छलफल गरौंला भनेपछि मैले उहाँहरुलाई हिजो चार बजे छाडिदिए,’ धिमालले भने, ‘यहाँ जग्गाको समस्या छैन, ठेकेदारले काम नगरेपछि जनताले दुःख पाएको हुनाले बाध्य भएर थुनेको हुँ ।’

वडा अध्यक्ष धिमालले ठेकेदार र उसको कर्मचारीलाई थुनेपछि आज बिहान निर्माणस्थलमा जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय प्रमुख, ठेकेदार र स्थानीय वासिन्दाबीच छलफल भयो । छलफलमा अस्थायी डाइभर्सन सञ्चालनका लागि स्थानीयले जग्गा उपलब्ध गराउने र ठेकेदारले काम सुरु गरिहाल्ने प्रतिज्ञा गर्न लगाइएको वडा अध्यक्ष धिमालले बताए ईकागजले उल्लेख गरेको छ ।

ठेक्का पाएलगत्तै गत साउनमा ठेकेदारले भइरहेको पुल भत्काइदिए । तर काम गरेनन् । यसले गर्दा चाँगुनारायण ३, ४, १ लगायत भक्तपुरको उत्तरी भेगका हजारौं स्थानीय बासिन्दा मर्कामा परे । उक्त पुल नबन्दै र वैकल्पिक बाटो तयार नहुँदै चाँगुनारायणकै वडा १ ले सल्लाघारी–दुवाकोट खण्डमा ढल हाल्ने काम थाल्यो ।

ढल बिच्छ्याउने क्रममा बाटो पूरै बन्द गरिएको छ । कवासे खोलादेखि झौखेलतर्फ आउने सडक खण्डमा गत वर्षायाममा गएको पहिरोका कारण सडक क्षतविक्षत छ । त्यसमा पनि ठेकेदारले समयमा काम नगरेको स्थानीय भुक्तभोगीको गुनासो छ ।

प्रकाशित : २०७८ पुष २३, शुक्रबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ