जनकपुरधाम । इनर्वामा डेढ वर्षदेखि पालले छोपिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ ।
रेल्वे ट्रयाक, इन्जिनको अवस्था बुझ्नका लागि इनर्वाबाट जनकपुरधामको कुर्थासम्म रेल परीक्षण गरिएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भइसकेको र माघ २७ गतेभित्रै रेल गुडाउने आफूहरूको तयारी रहेको महाप्रबन्धक झाले बताए ।
यसअघि कम्पनीसँग १ सय ५१ जना जनशक्ति रहेको कम्पनीसँग अहिले ६० जना मात्र जनशक्ति छ । रेल सञ्चालनका लागि २६ जना भारतीय जनशक्ति रहने उनले जानकारी दिए । परीक्षणका लागि २६ जना मध्ये १४ जना भारतीय जनशक्ति शनिबार नेपाल आएका थिए ।
यसैबीच भारतको उत्तरप्रदेशमा हुन लागेको विधानसभा निर्वाचका लागि डकुमेन्ट्री बनाउने हेतुले भाजपाको योजना अनुरुप रेल परीक्षण गरिएको चर्चा पनि चुलिएको छ । भाजपामा प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध छन् ।
उत्तरप्रदेशको अयोध्या र जनकपुरधामबीचको सांस्कृतिक सम्बन्धमा भारत सरकारको सहयोग सम्बन्धी डकुमेन्ट्री तयार गर्नको लागि प्रधानमन्त्री मोदीकै योजना अनुरुप रेल चलाइएको भन्दै विवादित भएको छ ।
तर, महाप्रबन्धक झा भने यो कुरा स्वीकार्न तयार हुनुहुन्न । ‘रेल नेपालको हो, कसैको डकुमेन्ट्री होइन,’ उनले भने, ‘रेल सञ्चालनको अन्तिम तयारीको उद्देश्यले रेलको अवस्था बुझ्न परीक्षणका लागि गुडाएका हौं ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।