राजविराज नगरपालिकाले कृषि विश्वविद्यालयलाई दियो २६ बिघा जग्गा


राजविराज । राजविराज नगरपालिकाले कृषि विश्वविद्यालयलाई २६ बिघा जग्गा दिने भएको छ । नगरपालिकाले वडा नं। १३ मा २६ बिघा ८ कट्ठा १८ धुर जग्गा दिने निर्णय गरेको हो ।

विश्वविद्यालयसम्बन्धी विधेयक पारित र उद्घाटनसँगै निर्माणका लागि जग्गा भाडामा लिने प्रक्रिया सुरु भएको थियो । नगर कार्यपालिकाको गत पुस २ गतेको बैठकले ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको नगर प्रमुख शम्भुप्रसाद यादवले बताए ।

प्रदेश सरकारले सप्तरीमा विश्वविद्यालय खोल्ने निर्णय गर्दै मंसिर २१ मा डा। वैद्यनाथ महतोलाई उपकुलपति नियुक्त र मंसिर २७ मा राजविराजमा विश्वविद्यालयको उद्घाटन गरेको थियो । पुस ८ मा प्रदेशसभाबाट विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएको थियो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि विश्वविद्यालय निर्माणका लागि चालु आर्थिक वर्षमा ३१ करोड रुपैयाँ विनियोजन गरिएको बताए । ‘विश्वविद्यालय प्रदेश सरकारको उच्च प्राथमिकतामा छ । बजेटका कारणले यसको निर्माणमा कुनै समस्या हुँदैन,’ उनले भने ।

कृषि क्षेत्रमा उच्च जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विश्वविद्यालय स्थापनाको तयारी गरिएको मन्त्री साहले बताए । विश्वविद्यालय निर्माण र सञ्चालनका लागि कम्तीमा एक सय बिघा जग्गा आवश्यक भएको उपकुलपति महतोले बताए ।

प्रकाशित : २०७८ पुष २५, आईतवार १२:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ