झारफुक गर्ने ‘माता’को भर पर्दा बालिकाको ज्यान गयो


काठमाडौं । काठमाडौंमा झारफुक गर्ने ‘माता’को विश्वासमा पर्दा एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी २ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए ।

एसपी मैनालीका अनुसार केही महिनादेखि बिरामी रहेकी बालिकालाई उनकी आमाले २२ दिनअघि आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन १ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन् । तर, टाउको दुख्ने समस्या लिएर ‘माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार भएन, बरू झन् समस्या बढ्दै गयो ।

‘शनिबार बिहान एक्कासी बालिका गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पुर्‍याइएको थियो,’ प्रहरी उपरीक्षक मैनालीले भने,’त्यतिन्जेल ढिला भइसकेको थियो । चिकित्सकले मृत घोषणा गरे ।’

बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्या’नको कसुरमा उजुरी दिएकी छन् । त्यही आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छ ।

प्रहरी उपरीक्षक मैनालीका अनुसार ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ भने बालिकाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । यो घटना अन्धविश्वासका कारण भएको उनको भनाई छ ।

प्रकाशित : २०७८ पुष २५, आईतवार २०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ