Todaykhoj, Birgunj : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि यूवाहरुको एक समूहले विरोध प्रदर्शन गरेका छन् ।
वीरगञ्ज महानगरपालिका १३ तेजारथ टोलस्थित मुख्यमन्त्री राउतको घर अगाडि आईतबार बिहान प्ले कार्ड बोकेर यूवाहरु प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले वीरगञ्ज राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन, वीरगञ्ज बेच्न पाइदैन जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउन मुख्यमन्त्रीले भूमिका निर्वाह गर्नुपर्ने प्रदर्शनमा उत्रेका यूवाहरुले माग गरेका छन् । मुख्यमन्त्री राउतको दल जनता समाजवादी पार्टी (जसपा) भने जनकपुरधामलाई राजधानी बनाउन सहमत भएको छ । त्यसैले त्यहाँका यूवाहरु आन्दोलित बनेका हुन् ।
मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउन वीरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको आरोेप बीरगञ्जबासीको छ । आन्दोलनमा सहभागी यूवाहरुले वीरगञ्जलाई राजधानी नबनाए मुख्यमन्त्री राउतको कडा प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।