जनकपुरधामका होटेल र लजहरु लुटिरहेका छन् : साँसद गिरी


जनकपुरधाम । प्रदेशको नामाकरण र स्थायी राजधानीका लागि प्रारम्भ भएको छलफलमा सहभागी हुँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद प्रल्हाद गिरी गोस्वामीले जनकपुरधामको होटेल र लजहरुले लुटिरहेको बताए ।

‘आउने सन्ततीले कस्तो ठाएँमा राजधानी राख्यो भनेर गाली गर्छन्’ पर्साका सांसद गोस्वामीले भने, ‘म आफैं यहाँको महंगीको शिकार भएको छु ।’ आफू बस्नका लागि घर भाडाको कुरा गर्दा ११ हजारमा कुरा भएको र सामान लिएर जाँदा घरधनीले १३ हजार रुपैयाँ लाग्ने बताएको उनले बताए ।

‘सामान लिएर गएको थिएँ, फेरि फिर्ता लिएर आउनुपर्थ्यो । त्यही भएर १३ हजार नै तिर्ने गरी बस्न थाले । पछि घरधनीले ३ महिनामै १५ हजार र ६ महिनामा २० हजार भाडा तोके ।’ यसबारेमा सोध्दा घरधनीले अब त यो राजधानी भइसक्यो त्यहीं भएर कोठा भाडा पनि महँगो भएको सुनाएको गोस्वामीको भनाइ छ ।

उनले हाजमोलाको पनि दृष्टान्त दिए । भने, ‘वीरगञ्ज र अरु सबैतिर १ रुपैयाँमा पाइने हाजमोलाको सानो प्याकेटको यहाँ ५ रुपैयाँ असुली गरिएको छ ।’ यहीं भएर यो भन्दा सस्तो ठाउँ बीरगंजलाई राजधानी बनाउनुपर्ने उनले बताए ।

गोस्वामीको भनाईलाई साथ दिए कांग्रेस सांसद उपेन्द्र प्रसाद कुसवाहाले । सर्लाहीका सांसद कुसवाहाले भने, ‘सर्लाहीमा पाइने मूल्यभन्दा यहाँ डेढ् गुणा बढी लिइरहेको अवस्था छ ।’ उनले यसबारे गहन रुपमा छलफल गर्दै राजधानी जनकपुरधामलाई नै बनाउनुपर्ने बताए ।

सर्लाहीकै नेकपा एकीकृत समाजवादीका सांसद रबीन्द्र बैठाले जनकपुरधाम अन्य ठाउँ भन्दा धेरै महँगो रहेको बताए । पर्साकी जसपा सांसद करिमा बेगमले राजधानी बीरगंजलाई नै बनाउनुपर्ने बताइन् । उनले बीरगंज जनकपुरधामभन्दा बढी सस्तो रहेको बताइन् ।

प्रकाशित : २०७८ माघ ३, सोमबार १३:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ