महोत्तरीबाट ३० लाख नगदसहित एक जना पक्राउ


जनकपुरधाम । स्रोत खुलाउन नसकेपछि एक जनालाई प्रहरीले ३० लाख रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका ३ बर्दाहाका २३ वर्षीय मो. सहाउद्दिन छन् ।

प्रहरीका अनुसार ज ६ प ६९४४ नम्बरको मोटरसाइकल चढेर सहाउद्दिन भारतबाट नेपालतर्फ आउँदै थिए । मटिहानी नगरपालिका ८ मा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ३० लाख रुपैया बरामद भएको र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

उनका अनुसार सहाउद्दिनले पछाडि पिठ्यूँमा बोकेको कालो रंगको झोलाबाट हजार रुपैयाँको २८ बण्डल र ज्याकेटको खल्तीबाट २ लाख नेपाली रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ बरामद भएको छ ।

रकमसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाइएको डीएसपी बिष्टले बताएका छन् । पछिल्लो समय प्रदेश २ मा स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या बढेको प्रहरीको तथ्यांकले देखाएको छ ।

 

प्रकाशित : २०७८ माघ ३, सोमबार १९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ