संविधानलाई उत्कृष्ट भन्नेहरु खारेज गर्न खोज्दैछन्, आगो लगाउने हामी बचाउँछौं : उपेन्द्र यादव


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भन्नेहरु नै संविधान खारेजीको बाटोमा लागेको आरोप लगाएका छन् ।

सिरहामा मधेश आन्दोलनका प्रथमसहिद रमेश महतोको सम्झनामा आयोजित १५ औं बलिदानी सभालाई सम्बोधन गर्दै उनले संविधानलाई उत्कृष्ट भन्नेहरुले संविधान खारेजी गर्न खोजेपनि आफूहरु जोगाउनतर्फ लागेको बताए । उनले संघीयता र गणतन्त्र खारेज गर्न चाहनेहरु संविधानलाई समाप्त पार्न खोजेकाले आफूहरु प्राप्त उपलब्धीको रक्षा संविधान बचाउनमा लागेको बताएका हुन् ।

‘फुटबल खेलमा हाफटाइमपछि यताको खेलाडी उता र उताको खेलाडी यता आउँछन् । हामीहरुको हालत त्यस्तै भयो’, जसपा अध्यक्ष यादव भने, ‘हामीले जुन संविधान जलायौं । यो संविधान विभेदकारी हो भनिरहेका छौं । तरपनि हामी भनिरहेका छौं– संशोधनमार्फत परिवर्तन गरौं । तर जसले संविधान जारी गर्ने बेला मधेसीलाई गोली ठोकेर जर्वजस्ती संविधान जारी गर्यो । अहिले उनीहरु भनिरहेका छन् यो संविधानको कामै छैन ।’

उनले थपे, ‘विश्वको उत्कृष्ट संविधान भन्नेहरु अहिले खारेज गर्न लागेका छन् । तर संविधान जलाउने हामीले भनिरहेका छौं पख्नुस् । प्राप्त उपलब्धीलाई कार्यान्वयण गर्नुपर्छ र बाँकीका लागि हामी अगाडी बढ्छौं । संविधान समाप्त पारेपछि संघीयता र गणतन्त्र पनि खारेज हुन्छ भन्ने साजिस तहत नै केपी ओलीले दुई पटक संसद विघटन गरेका थिए ।’

उनले नेपालमा संसदीय व्यवस्था रहेपनि संसदको सर्वोच्चता नभएको टिप्पण गरे । उनले भने, ‘प्रधानमन्त्री चाहेको बेला फ्रेस म्यान्डेड ल्याउन सक्छ । तर यो संविधानमा त्यो व्यवस्था छैन । यो प्रणाली नै असफल छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा राजनीतिक स्थितिरता सम्भव छैन । यदि राजनीतिक स्थिरता सम्भव छैन भने आर्थिक विकास हुँदैन ।’

केपी ओलीको दुई तिहाइको सरकार ढलेको विषयलाई लक्षित गर्दै अध्यक्ष यादवले भने९ हेर्नुभयो नी, दुई तिहाइको सरकार थियो । आज फुटपाथमा घुमिरहेका छन् । मधेसीमाथि गोली बर्साएर संविधान बनाएर जुन खाल्डो खनियो, अहिले त्यसमा आफै खसे ।’

शासकिय स्वरुपमा बदलाव हुनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै अध्यक्ष यादवले राष्ट्रपटि जनताद्धारा निर्वाचित हुनुपर्ने धारणा राखे । उनले भने, ‘संसदको काम कानून बनाउने र सरकारमाथि चेक एण्ड ब्यालेन्स गर्ने हुनुपर्छ । राष्ट्रपतिले सरकार बनाउनुपर्छ । अनी साँसद खरिद विक्री पनि बन्द हुन्छ ।’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७८ माघ ५, बुधबार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ