मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा


राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अनुसन्धान अधिकृत नै रकम असुलीमा लागेको खुलेको छ । आयोगको इटहरी कार्यालयमा कार्यरत रहँदा अनुसन्धान अधिकृत कृष्ण सुवेदीले असुली धन्दा चलाएका हुन् ।

अख्तियारका अनुसन्धान अधिकृत सुवेदीले सप्तरीका विभिन्न स्थानीय तहका योजनाहरूमा कुनै कैफियत देखिए जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र प्राविधिकलाई धम्क्याउँदै मोटो रकम असुली गरेको भन्दै पीडितले उजुरी दिएपछि उक्त तथ्य खुलेको हो  ।

सुवेदीमाथि आयोगको केन्द्रीय कार्यालयमा उजुरी परेको र त्यसबारे छानबिन भइरहेको अख्तियारका सहप्रवक्ता वेदप्रसाद भण्डारीले पुष्टि गरे । प्राप्त अडियो टेपअनुसार सुवेदीले अनुसन्धानका नाममा सप्तरीका विभिन्न स्थानीय तहका कर्मचारीलगायतसँग रकमको बार्गेनिङ गरेको सुन्न सकिन्छ( कान्तिपुर अनलाइनमा समाचार छ ।

संवादका क्रममा सुवेदीले अख्तियारको माथिल्लो तहसम्म रकम पुर्‍याउनुपर्ने भएकाले नदिए कारबाही भोग्न तयार रहन भन्दै धम्क्याएका समेत छन् । ‘अख्तियारमा स्थानीय तहका विकास निर्माण योजनामाथि कुनै उजुरी परे सुरुमा उनी निर्माणस्थल पुग्थे, मुचुल्का उठाउँथे र कैफियत देखिए पैसाको बार्गेनिङ गर्न थाल्थे,’ सप्तरीको एक पालिकाका प्राविधिकले भने, ‘एकपटक पैसा दिए पुनः धम्क्याउँदै माग्दै हैरान नै बनाउँथे ।’

विभिन्न पालिकाअन्तर्गत पेस्की बेरुजु रहेकाको नामावलीका आधारमा समेत उनले कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीलाई फोन गरी कानुनी दाउपेच देखाउँदै घुसको बार्गेनिङ गर्ने गरेका ती प्राविधिकले दाबी गरे ।

‘हाम्रो पालिकाका २ वटा योजनामा उजुरी परेपछि कैफियत देखाउँदै सेटलमेन्ट गर्ने भन्दै ४ लाख रुपैयाँ लगेका थिए,’ ती प्राविधिकले भने, ‘पछि रकम माग्ने क्रम दोहोरिन थालेको थियो ।’ उनले रकम मोलमोलाइ गर्न फोनबाहेक फेसबुक खाताको समेत प्रयोग गर्ने गरेको पाइएको छ ।

‘पहिला कार्यालयकै ल्यान्डलाइनबाट उनको फोन आउँथ्यो,’ आयोगमा उजुरी दिएका सप्तरीकै एक गाउँपालिकाका कर्मचारीले भने, ‘त्यसबेला एकदमै कडा शैलीमा प्रस्तुत हुन्थे । पछि मोबाइलबाट फोन गर्थे र ‘कर्तव्य मानव’ फेसबुक अकाउन्टमा जोडिन भन्थे । उक्त फेसबुकमा जोडिएपछि पैसाको बार्गेनिङ सुरु हुन्थ्यो ।’

कर्तव्य मानव नामक उक्त फेसबुक खातामा सुवेदीले पृथ्वीनारायण शाहको प्रोफाइल तस्बिर राखेका छन् ।
ती कर्मचारीका अनुसार फोन र फेसबुकमार्फत रकमको बार्गेनिङ मिलेपछि सुवेदीले सम्बन्धित कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई सुनसरी सदरमुकाम इनरुवा बोलाउँथे । सुवेदी इनरुवाका बासिन्दासमेत हुन् ।

इनरुवास्थित एक होटलमा बोलाउने र आफू ई–रिक्सामा त्यहाँ पुगेर होटलमा नबसी ई–रिक्सामै बजार डुल्दै रकम असुल्ने गर्थे । तर, सुवेदीको बार्गेनिङ भने यतिमै सीमित हुँदैनथ्यो । एक पटक रकम लिएका कर्मचारी, उपभोक्ता समिति पदाधिकारीलाई यसअघि गरेको फेसबुक च्याट र फोन संवादको रेकर्डिङ सुनाउँदै धम्क्याउने गर्दै आएका थिए ।

सुवेदीबाट आफू अख्तियारको अनुसन्धान अधिकृत रहेको र भ्रष्टाचारको आरोपमा जेल चलान गरिदिने धम्की दिनहुँजसो आउन थालेपछि केही कर्मचारीले सुवेदीकै फोनको अडियो रेकर्ड तथा फेसबुक च्याटको भिडियो बनाई अख्तियारमा उजुरी दिएका थिए । सुवेदीबाट मानसिक प्रताडना पाएको उल्लेख गर्दै उजुरी दिएपछि सुवेदीले कर्तव्य मानव नामक फेसबुक खातासमेत बन्द गरेका छन् ।

उजुरीपछि सुवेदीलाई अख्तियारको इटहरीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय तानिएको थियो । पछि उनको सरुवा सुनसरीकै जिल्ला प्रशासन कार्यालयमा भएको छ । गत मंसिर २२ मा उनले अख्तियारको इटहरी कार्यालयबाट रवाना लिई जिल्ला प्रशासन गएको अख्तियार स्रोतले बतायो । उनी गत वर्षको माघ मध्यतिर आयोगको हेटौंडा कार्यालयबाट इटहरी सरुवा भएका थिए ।

यसबारे प्रतिक्रिया लिन सुवेदीलाई फोन गर्दा विषय उल्लेख गर्नेबित्तिकै फोन काटेका थिए । त्यसपछि पटकपटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् । अख्तियारका सहप्रवक्ता भण्डारीले सुवेदीको कसुर देखिए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारे । ‘कृष्ण सुवेदीमाथि परेको उजुरी अहिले पनि छानबिनकै क्रममा छ,’ भण्डारीले भने, ‘सबुत प्रमाण बुझ्ने र संकलन गर्ने काम भइरहेको छ । कसुर देखिए कानुनबमोजिम कारबाही हुन्छ ।’

प्रकाशित : २०७८ माघ ८, शनिबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ