जनकपुरधाम । भारत सरकारले भगवान रामको जन्मभूमि अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म जोड्ने चारलेनको सडक निर्माण गर्ने भएको छ ।
भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ ।
भारतका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले बिहार सरकारका पथ निर्माण मन्त्री नितिन नवीनलाई पत्र लेखेर रामजानकी मार्ग निर्माणसम्बन्धी जानकारी गराएका हुन् ।
पीएम प्याकेज बिहार २०१५ अन्तर्गत सो सडक निर्माण गर्न लागिएको पत्रमा भनिएको छ । २४० किलोमिटर लम्बाईको सो सडकखण्डको निर्माण कार्य एनएचआईले गर्नेछ। यसका लागि बिहार सरकारले केन्द्र सरकारसँग स्वीकृति मागेको थियो । जसको स्वीकृतिसहितको पत्र केन्द्रले बिहार सरकारलाई पठाएको हो ।
पत्रमा भनिएको छ, ‘बिहार राज्यको रामजानकी मार्गको चार लेनको सडक मापदण्ड अनुसार विकास गरिने छ। राम जानकी मार्ग उत्तर प्रदेशमा भगवान रामको जन्मस्थल अयोध्याबाट सुरु भई नेपालको जनकपुरधाममा अन्त्य हुन्छ । माता सीताको जन्मस्थल बसन्ती-बहालगंज बिहार राज्यको महराउना घाट, सिवन चाकिया, सीतागढी, भिठामोड हुँदै जनकपुरधाममा अन्त्य हुन्छ ।’
भारतका केन्द्रीय मन्त्री गडकरीद्वारा लेखिएको पत्रमा थप भनिएको छ, ‘रामजानकी मार्गको धार्मिक महत्व र तपाईको अनुरोधलाई स्वीकार गर्दै यस राजमार्गको बिहार राज्यको सम्पूर्ण भाग ४ लेनको बनाउने निर्णय भएको छ भन्ने कुरा खुशीका साथ जानकारी गराउन चाहन्छु ।’
सो सडकको निर्माणसँगै अयोध्याबाट माता सीताको भूमि जनकपुरधाम आउने भारतीय पर्यटकको संख्यामा वृद्धि हुने बताइएको छ । – नेपाल समय