जसपामा उपेन्द्रविरुद्ध दुई तिहाइ, बाबुरामलाई अध्यक्ष बनाउन दबाब


काठमाडौं । महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै सत्तारुढ जनता समाजवादी पार्टी पुनः विभाजनको डिलमा पुगेको छ । यसपटक उपेन्द्र यादव जसपा केन्द्रीय कार्यकारिणी समितिभित्र चरम अल्पमतमा परेका छन् ।

निरंकुश कार्यशैली, नेताहरूसँग सल्लाह नगरी आफूखुसी निर्णय गर्ने र सीमित जातीय घेरामा मात्र रहने स्वभावका कारण यादव एक्लिएको जसपाका नेताहरूले बताएका छन् । पार्टी विभाजनअघि ५१ सदस्य रहेको जसपा कार्यकारिणी समितिमा हाल २६ जना सदस्य छन् ।

२६ सदस्यमध्ये उपेन्द्रको विपक्षमा २० जना पुगिसकेको सोही समितिका एक सदस्यले नेपाल प्रेसलाई बताएका छन् । राष्ट्रियसभा चुनावलगत्तै यो दुई तिहाइ बहुमतको प्रयोग पार्टीभित्र कसरी गर्ने भन्ने टुंगो लाग्ने ती नेताले बताए । बहुमत पक्ष वैशाखमा स्थानीय चुनाव हुने अवस्थामा पार्टीभित्रका कतिपय विवाद थाती राख्ने पक्षमा थियो ।

तर, सत्ता गठबन्धनको आइतबार बसेको बैठकले वैशाखमा चुनाव नगर्ने सहमति जुटाएपछि अब जसपाको विवादलाई वैधानिक ढंगले हल गर्न उपेन्द्रमाथि दबाब बढाइने नेताहरूले बताएका छन् ।अहिले जसपामा उपेन्द्र यादवविरोधी खेमाको नेतृत्व डा। बाबुराम भट्टराईले गरेका छन् ।

महन्थ ठाकुरले पार्टी विभाजन गरेपछि रिक्त रहेको अध्यक्ष पदमा बाबुरामलाई चयन गर्न उपेन्द्रमाथि दबाब छ । तर, उनले जसपामा अब एकमात्र अध्यक्ष हुने भन्दै महन्थको वहिर्गमनसँगै दुई अध्यक्षको च्याप्टर क्लोज भएको बताएका छन् ।

यादवनिकट नेता योगेन्द्र यादवले अब जसपामा दुई अध्यक्ष नरहने बताएका छन् । तर, पार्टी महाधिवेशनले एकल अध्यक्ष चयन नगरेसम्म विधानको व्यवस्थाअनुसार उपेन्द्रभन्दा माथिल्लो वरीयतामा बाबुरामलाई अध्यक्ष बनाउन बहुमत जुटेको छ ।

पछिल्लो समय अशोक राईले समेत बाबुरामलाई साथ दिएका छन् । राई अहिले मौन रहे पनि निर्णायक बेलामा बाबुरामकै पक्षमा उभिने उनीनिकट नेताहरूले बताएका छन् । राष्ट्रियसभा निर्वाचनपछि अशोक खुलेर उपेन्द्रविरुद्ध लाग्ने उनीहरूको भनाइ छ ।

बाबुरामनिकट नेता नवराज सुवेदीले यथास्थितिमा जसपा रहन नसक्ने भन्दै राष्ट्रियसभा निर्वाचनपछि निर्णायक छलफल हुने बताए । उनले उपेन्द्र यादवको कार्यशैली नफेरिए जसपामा दुर्भाग्यपूर्ण परिस्थिति आउने बताए ।

केन्द्रीय कार्यकारिणी समितिका २६ मध्ये हाल उपेन्द्रको पक्षमा वनमन्त्री समेत रहेका रामसहायप्रसाद यादव, भौतिक पूर्वाधारमन्त्री रेणु कुमारी यादव र केन्द्रीय कार्यालय समिति सचिवसमेत रहेका प्रकाश अधिकारीमात्र प्रष्टसँग खुलेका छन् ।

बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्तिवाला समूह र अशोक राई नेतृत्वको संघीय समाजवादी समूहका नेताहरू सबै एकै ठाउँमा छन् । उनीहरूलाई उपेन्द्र यादव समूहका इस्तियाक राई, प्रदीप यादवलगायतले समेत खुलेर साथ दिएपछि यादव कार्यकारिणी समितिमा निरीह बनेका हुन् ।

जसपामा उपेन्द्रमाथि दबाब बढाउन राजनीतिक र सैद्धान्तिक धेरै विषयहरू विवादमा रहे पनि पहिलो शर्त बाबुरामलाई अध्यक्ष बनाउनुपर्ने रहेको र त्यसबाटै अरु विषय अघि बढ्ने नेताहरूको भनाइ छ । – नेपाल प्रेस

प्रकाशित : २०७८ माघ १०, सोमबार ११:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ