मधेसका जिल्लामा छैनन् निःशुल्क भनिएका औषधि


रौतहट । अस्पतालले बिरामीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न सञ्चालन गरेको फार्मेसीमा सरकारले उपलब्ध गराउने निःशुल्क औषधिसमेत पाइँदैन । मधेस प्रदेशको रौतहट सदरमुकाम गौरमा रहेको एक मात्र सरकारी अस्पतालको फार्मेसीमा निःशुल्क दिने औषधि नहुँदा बिरामी निजीमा किन्न बाध्य छन् ।

अस्पताललाई प्रदेश सरकारले पठाएको न्यून बजेटले औषधि खरिद गरे पनि अपुग छ । गौर अस्पतालले ५ वर्षअघि सञ्चालनमा ल्याएको फार्मेसीमा सरकारले निःशुल्क उपलब्ध गराएको ७० प्रकारका औषधिमध्ये १५ प्रकारका पनि छैनन् । औषधि अपुगबारे अस्पतालले प्रदेश सरकारलाई पटकपटक जानकारी गराइसकेको छ । अहिले एन्टिबायोटिक, एलर्जी, ग्यासटिक हटाउने औषधि फार्मेसीमा छैनन् ।

अस्पताल प्रमुख डा. कृष्ण साहले वर्षमा १ करोडको औषधि खपत हुने अस्पतालमा प्रदेश सरकारले जम्मा १० लाख मात्र बजेट दिएको बताए । ‘हात्तीको मुखमा जिराजस्तै भएको छ । ठूलो जनसख्या भएको अस्पतालमा निःशुल्क औषधिको आस गर्ने बिरामी धेरै हुन्छन्,’ उनले भने, ‘बजेट बढाइदिनुस् भनेकै हो । अहिले पनि कतिपय निःशुल्क औषधि छैनन् ।’

५० शय्याको सरकारी अस्पतालमा सीमाक्षेत्र भारतका बिरामीसमेत आउँछन् । अस्पतालका अनुसार ग्रामीण भेगबाट आउने बिरामी बाहिर औषधि किन्न जानै मान्दैनन् । उनीहरू निःशुल्क औषधि चाहियो भन्दै बाहिरबाट किनेर दिनू भनेर दबाब दिने गरेको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।

अस्पतालका स्टोरकिपर रामश्रेय मुखियाले निःशुल्क औषधि सकिएको बारे प्रदेश सरकारलाई जानकारी गराइसकेको बताए । ‘एकरदुई दिनभित्र प्रदेश सरकारले पठाउने भनेको छ,’ उनले भने, ‘केही महत्त्वपूर्ण औषधि नहुँदा बिरामी मर्कामा पर्छन् ।’ खुट्टामा चोट लागेर अस्पताल पुगेका गौरका सरोज कुर्मीले ग्यास्ट्रिकको औषधिसमेत बाहिर किन्नुपरेको सुनाए ।

‘निःशुल्क भनिएको औषधि नै छैन,’ उनले भने, ‘सरकारले औषधि नै दिन सक्दैन भने किन सरकारी फार्मेसी भनेर बिरामीलाई मख्ख पार्नु रु’ नेपाल सरकारले निःशुल्क दिने भनिएको औषधि र औषधिजन्य सामग्रीको सूची सबैले देख्नेगरी राख्नुपर्नेमा अस्पतालले त्यसो गरेको छैन । – कान्तिपुर

प्रकाशित : २०७८ माघ ११, मंगलवार १०:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ