साउदी गएका राजु सम्पर्कविहीन, घरमा छोरा छोरी विरामी, उपचार गराउनै मुस्किल


झापा । वैदेशिक रोजगारीका लागि साउदी अरब गएका मेचीनगर नगरपालिका ७ आयाबासीका राजु थापा क्षेत्री तीन वर्षदेखि सम्पर्कविहीन भएका छन् ।

राजु सम्पर्कविहीन हुँदा घरका सदस्य बिचल्लीमा परेका छन् । राजु १० वर्षअघि साउदी अरब गएका थिए। तर, तीन वर्षदेखि सम्पर्कमा नरहेको उनकी श्रीमती मनकुमारीले बताइन् । उनले श्रीमानको खोजीमा सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

‘श्रीमान् घर खर्च त के पठाओस्, हाम्रो सम्पर्कमै हुनुहुन्न,’ मनकुमारीले भनिन्, ‘परिवार पाल्नै धौधौ परिसकेको छ । श्रीमानलाई खोज्न धेरै प्रयास गर्‍यौं, अहिलेसम्म उहाँ सम्पर्कमा आउनुभएको छैन ।’

२०६८ सालमा श्रीमती, स-साना दुई छोरी र बिरामी भएका बुबा–आमालाई छाडेर राजु साउदी अरब काम गर्न गएका थिए । राजु विदेशमै भएका बेला सडक दुर्घटनामा परेर उनको बुबाको मृत्यु भएको थियो ।

उनी बुबाको काजक्रियामा पनि नआएको परिवारका सदस्यले बताइएको छ । अहिले ठूली छोरी १४ र कान्छी छोरी ११ वर्ष पुगेका छन् । ठूली छोरीको मानसिक सन्तुलन पनि ठिक छैन ।

अहिलेसम्म जसो त्यसो मजदुरी गरी परिवार पाल्दै आएको मनकुमारीले बताइन् । अभिभावक नहुँदा निक्कै कठिनाइ भइरहेको उनको भनाइ छ । उनले पीडा पोखिन्‚ ‘मेरो कमाइले परिवार पाल्नु कि छोरी पढाउनु वा बुढी भएकी सासु र छोरीको औषधि उपचार गर्नु ?’

राजुले पाँच वर्षअघि मात्र पहिलाको कम्पनी छाडेर अन्य कम्पनीमा गएको भनी घरमा जानकारी गराएका मनकुमारीले बताइन् । घर चाँडै फर्किन्छु भनेका उनी एकाएक बेपत्ता भएको मनकुमारीले सुनाइन् ।

पाँच धुर अर्काको जग्गामा घर बनाएर थापा परिवार अहिले बसेका छन् । घर व्यवहार चलाउँछु भन्दै ऋण काढेर छोरा विदेश गएको र उतै बेपत्ता भएको उनकी आमा दीपा थापाले बताइन् ।

‘अलिकति भएको पैसा पनि छोरालाई खोज्दामै सकियो अब कसरी परिवार पाल्नु ठुलो चिन्ता थपिएको छ‚’ दीपाले भनिन्‚ ‘मर्ने बेलामा एक चोटी मात्रै भए पनि परदेशिएको छोराको मुख हेर्ने ठूलो इच्छा छ ।’

‘छोरा सम्पर्कमा पनि आउँदैन । छोरीहरूले बुबा कहिले आउनुहुन्छ भनी सोधी राखेकी हुन्छिन्‚’ उनले भनिन्‚ ‘अब छोराको खोजीका लागि यो बुढेसकालमा कहाँ जानु र भएको सम्पत्ति पनि छोराको पर्खाइमा सक्यो ।’

प्रकाशित : २०७८ माघ १५, शनिबार ०७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ