मधेसलाई कुहिरोले ढाक्यो, चिसोले जनजीवन प्रभावित


टुडेखोज, जनकपुरधाम । मधेसका जिल्लाहरुलाई आज कुहिरो र हुस्सुले ढाकेको छ । अत्यधिक कुहिरो लागेपछि चिसो बढेको महसुस सर्वसधारणले गरेका हुन् । चिसोले जनजीवन प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। देशका बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । आज राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बांकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।

देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सन्भावना रहेको महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ माघ १६, आईतवार ०९:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ