भारतीय प्रधानमन्त्री मोदीमाथि किन लाग्यो देशद्रोहको आरोप ?


भारतको राजनीतिमा पुनः एकपटक कथित पेगासस जासुसी मामिला प्रवेश गरेको छ । अमेरिकी अखबार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाईवेयर पेगासस खरिद गरेको एक रिपोर्ट प्रकाशित गरेपछि त्यहाँको राजनीतिमा तरंग पैदा भएको हो ।

न्युयोर्क टाइम्सको रिपोर्टलाई आधार मान्दै कतिपय विपक्षी दलले नरेन्द्र मोदी सत्तामाथि औंला ठड्याउन थालेका छन् । भारतले रक्षा सम्झौताअन्तर्गत २०१७ मा इजरायलसँग पेगासस खरिद गरेको दाबी न्युयोर्क टाइम्सको रिपोर्टमा गरिएको छ । हतियार खरिद शीर्षकको दुई अर्ब डलरको प्याकेजमा यो खरिद गरिएको बताइएको छ ।

गत वर्ष पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौं देश नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो, जसमा भारतको नाम पनि सामेल थियो । त्यसपछि भारतीय राजनीतिमा आरोप- प्रत्यारोपको शृंखला सुरु भएको थियो ।

राजनीतिक दलदेखि पत्रकार र सामाजिक अभियन्तासमेतले अहिले पनि यसबारे टिप्पणी गर्न थालेका छन् । यो यतिखेर सोसल मिडियामा ट्रेन्डमा छ र मानिसहरूले गम्भीर चर्चा गर्न थालेका छन् । काँग्रेस नेता राहुल गान्धीले शनिबार एक ट्विट गर्दै मोदी सरकारले देशका प्राथमिक संस्था, राजनीतिक नेताहरू र जनताविरुद्ध जासुसी गरेको आरोप लगाएका छन् ।

यस्तै जासुसी गर्न मोदीले पेगासस खरिद गरेको पनि राहुल गान्धीले उल्लेख गरेका छन् । ‘फोन टेप गरेर सत्ता पक्ष, विपक्ष, सेना, न्यायपालिका सबैलाई निशाना बनाइएको छ । यो देशद्रोह हो,’ गान्धीले भनेका छन्, ‘मोदी सरकारले देशद्रोह गरेको छ ।’

तृणमूल कांग्रेस पार्टीका नेता महुआ मोइत्राले पनि न्युयोर्क टाइम्सको रिपोर्ट ट्विट गरेका छन् । कंग्रेस नेता पी चिदम्बरमले इजरायलसँग पेगासस खरिद गरेको आरोप लगाउँदै मोदीमाथि व्यंग्य कसेका छन् ।

शिवसेना सांसद प्रियंका चतुर्वेदीले जनताको पैसा जासुसीमा बीजेपी सरकारले खर्च गरेको आरोप लगाएकी छन् । उनले ट्विटरमा लेखेकी छन्, ‘भारतका कर तिर्ने नागरिकको पैसा जासुसी र निगरानीमा सरकारले खर्च गरेको छ । यस्तो जासुसी त देशको जमिन कब्जाविरुद्ध गर्न सकेको भए राम्रो हुन्थ्यो ।’

के हो पेगासस ?
गत वर्ष जुलाईमा ‘वासिङ्टन पोस्ट’ र भारतीय समाचार पोर्टल ‘द वायर’ले संसारका थुप्रै पत्रकार तथा सामाजिक अभियन्ताको फोन ह्याक गरिएको खबर सार्वजनिक गरेका थिए । द वायरले महत्वपूर्ण ५० हजार वटा नम्बरको डेटाबेस लिक भएको र त्यसमध्ये तीन सयभन्दा बढी नम्बर भारतीय नागरिकको रहेको उल्लेख गरेको थियो । त्यसमा भारतका राजनेता, पत्रकार तथा सामाजिक अभियन्ता रहेका र उनीहरूलाई जासुसीको सूचीमा राखिएको थियो ।

तर भन्न केचाहिँ सकिँदैन भने, ती व्यक्तिहरूमा जासुसी अहिलेसम्म भएको छ कि छैन । पेगासस इजरायलको साइबर सुरक्षा कम्पनीले एनएसओले निर्माण गरेको हो । बंगलादेशलगायत कतिपय देशले पेगासस स्पाईवेयर खरिद गरेका छन् । यसबारे पहिलादेखि नै विवाद हुँदै आएको छ ।

पेगासस एउटा यस्तो प्रोग्राम हो, जसलाई यदि कुनै स्मार्टफोनमा राखिदियो भने ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामरा, अडियो र टेक्स्ट म्यासेज, ईमेल र लोकेसनसमेतको जानकारी लिन सक्छ । पेगाससको प्रयोगबाट कुनै पनि व्यक्तिको गोप्य कुरा थाहा पाउन सकिने हुनाले नै भारतमा यसबारे विवाद चलिरहेको छ ।

प्रकाशित : २०७८ माघ १६, आईतवार १८:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ