मधेस : लेखपढले सचेत बन्दै मुसहर किशोरी


धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया–३ मुसहर टोलकी १५ वर्षीया अञ्जलीकुमारी सदाको दैनिकी महिनायता फेरिएको छ । बिहान उठेर चुल्हाचौका, गोठ सरसफाइ गर्ने अञ्जली अहिले बिहान उठेर कापी–किताब लिएर पढ्न जान्छिन् ।

घरको काम सकेर छिमेकमा बसेर गफगाफ गर्ने अञ्जली दिउँसोको समयमा किताबकापीमा घोत्लिन्छन् । केही महिनाको पढाइले उनी घरमा पढ्न, लेख्न र हिसाब गर्न सक्ने भएकी छन् । उनको घरमा अहिलेसम्म कोही लेखपढ गर्न जानेको थिएन ।

गैरसरकारी संस्थाले मुसहर बस्तीकी किशोरीलाई जीविकोपार्जन गर्न द्रुत सिकाइको माध्यमबाट साक्षर बनाउँदै आफ्नै व्यवसाय गर्न प्रेरित गरेको छ । अञ्जलीले पढाइ सकिएर हाँस पाल्न योजना बनाएकी छन् । अञ्जलीसँगै १७ वर्षीया पिंकी सदा सिकाइ केन्द्रको पढाइले व्यवसाय गर्न आवश्यक पर्ने हरहिसाब सहजै गर्न सक्ने भएकी छन् । सिकाइ केन्द्रबाट नयाँ जीवन पाएको उनले बताइन् ।

‘मुसहर बस्तीमा १७ वर्ष हुँदासम्म विवाह नभएको कोही छैन,’ उनले भने, ‘सिकाइ केन्द्रले पढ्न लेख्न सिकाउनुका साथै २० वर्षमा विवाह गर्ने शिक्षा पाएको छु । मेरै उमेरकी साथीहरू २र३ जना बच्चाको आमा बन्दा अस्वस्थ भएका छन् । म २० वर्ष पुगेपछि मात्रै विवाह गर्नेछु ।’ उनले पनि १० वटा हाँस किनेर व्यवसाय सुरु गर्ने योजना बनाएकी छन् ।

हाँसको अण्डा बेचेर घर खर्च र बचत गर्ने उनको सोच छ । अञ्जली र पिंकीजस्तै सिकाइ केन्द्रमा अध्ययनरत ११ किशोरीले उज्ज्वल भविष्यको सपना बुन्दै छन् । तुल्सीयाही मुसहरी टोलकी किशोरीहरू सिकाइ केन्द्र जान थालेपछि आत्मनिर्भर बन्ने अठोट गरेका छन् । गरिबीका कारण पढ्ने उमेरमा विद्यालयमा कखरा सिक्नबाट वञ्चित किशोरीहरू सिकाइ केन्द्रमा जान थालेका हुन् ।

किशोरीहरूले हाँसपालन, तरकारी व्यवसाय, किराना पसल सञ्चालनको तयारी गरिरहेको सिकाइ केन्द्रका शिक्षक रघुनाथ मिश्रले बताए । शिक्षक मिश्रले मुसहर बस्तीमा निर्माणाधीन दिनाभरी मन्दिरको परिसरमा किशोरीहरूलाई पढाउँदै आएका छन् ।

विद्यालय शिक्षाबाट वञ्चित मुसहर बस्तीका १९ जनामध्ये १० वर्षदेखि १४ वर्ष उमेर समूहका ७ जनालाई बस्ती नजिकैको राष्ट्रिय प्राथमिक विद्यालय तुल्सीयाहीमा भर्ना गराइएको छ । १४ वर्षभन्दा माथिका ११ जना किशोरीलाई मन्दिर परिसरमा बिहान ८ बजेदेखि ११ बजेसम्म सिकाइ केन्द्रमा पढाउँदै आएको मिश्रले बताए ।

सिकाइ केन्द्रमा आएर आफ्नो परिचय सहजै दिनुका साथै बोल्न, लेख्न र समुदाय पछाडि पर्नुको कारणबारे बुझ्न सकेको गुँडिया कुमारी सदाले बताइन् । ‘पढ्न आउँदा सुरुमा टोलभरिका मान्छे हाँस्थे,’ उनले भनिन्, ‘तीन महिनामै लेख्न, पढ्न र घरपरिवारको सरसफाइमा सुधार भएपछि हाँस्नेहरू प्रशंसा गर्न थालेका छन् ।’

मधेस प्रदेशमा मुसहर बस्तीका बालबालिका कमै मात्र विद्यालय जान्छन् । गरिबीका कारण विद्यालय पठाउनुको साटो अभिभावकले सानै उमेरदेखि काममा लगाउँदै आएका छन् । – सन्तोष सिंह, कान्तिपुर

प्रकाशित : २०७८ माघ १८, मंगलवार १४:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ