नेपालमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग नै अवरुद्ध


दाङ । भारी हिमपातले रुकुम पूर्वको मध्यपहाडी लोकमार्गको अवरुद्ध भएको छ । बिहीबारदेखि परेको हिमपातले मध्यपहाडी लोकमार्गको लकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो ।

हिउँले सडक पुरिएपछि रुकुम पूर्वको भूमे गाउँपालिका वडानम्बर १ देखि बागलुङको सीमा क्षेत्र पातिहाल्नासम्मको खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

सडकमा बाक्लो हिउँ परेको छ । प्रहरीका अनुसार लोकमार्ग अवरुद्ध भएपछि रुकुम पूर्व, रोल्पालगायतका ठाउँबाट काठमाडौं जाने र काठमाडौंबाट रोल्पा र रुकुम पूर्व फर्केने यात्रुहरू विभिन्न ठाउँमा अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले १७ किलोमिटर सडकमा बाख्लो हिउँ जमलेकाले पन्छाउन केही समय लाग्ने बताए । यसअघि पनि हिमपातका कारण उक्त खण्ड अवरुद्ध हुँदै आएको थियो ।

गत पुस दोस्रो साता पनि सो खण्ड हिमपातका कारण अवरुद्ध बनेको थियो । झण्डै एकसाता भन्दा लामो समयसम्म अवरुद्ध भएको सडक हिउँ हटाएर खुलाइएको थियो । हरेक वर्षको हिउँदयाममा यो खण्ड हिउँका कारण बन्द हुने गरेको छ ।

प्रकाशित : २०७८ माघ २२, शनिबार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ