सिरहा: रिक्त विज्ञान शिक्षक, समितिले एकलौटी निर्णय गरेर ल्याए गणित शिक्षक


सिरहा । सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा विज्ञान विषयको शिक्षक पद रिक्त रहेकोमा गणित विषयका शिक्षकलाई हाजिर गराउने निर्णय गरेको छ ।

विद्यालय व्यवस्थापन समितिले धनुषाको रघुनाथपुरस्थित बरकुरवा माविका गणित शिक्षक रामदुलार यादवलाई हाजिर गराउने निर्णय गरेको हो । हिजो शनिवार नै शिक्षक यादवलाई हाजिर गराउने निर्णय समितिले गरेको बुझिएको छ । निर्णयमा प्रधानाध्यापक रघुनाथ साह आपत्ति जनाएका हुन् ।

प्रधानाध्यापक साहले विज्ञान शिक्षकको ठाउँमा गणित शिक्षक राख्दा विद्यार्थीको भविष्यसँग खेलवाड हुने बताएका थिए । तर उनको कुरालाई बेवास्ता गर्दै समिति अध्यक्ष मोहन यादवले एकलौटी निर्णय गरेका छन् । उनको निर्णयमा विद्यार्थीहरु समेत सहमत छैन ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रले भने, ‘प्रअ सरको कुरा समेत नमानेर समितिले गणित शिक्षकलाई राख्ने निर्णय गर्नु गलत हो । विज्ञानको शिक्षक गणित पढाउन सक्नुहुन्छ । तर गणितको शिक्षक विज्ञान पढाउन सक्नुहुन्न । त्यसैले सरुवा सहमती दिने निर्णय खारेज हुनुपर्छ ।’ आर्थिक र राजनीतिक दबाबमा समितिका अध्यक्षले गणितको शिक्षकलाई ल्याएको हुनसक्ने उनको भनाई छ ।

स्रोतका अनुसार विज्ञान विषयमा शिक्षक ईश्वरदेव महतो पनि सरुवा सहमतीको विद्यालयमा आवेदन दिएका थिए । आवेदन दिने शिक्षकहरुको विद्यालयले क्लास टेस्ट गराए पनि । क्लास टेस्टमा विज्ञान विषयका शिक्षक महतो नै पहिलो भएको विद्यालयका एक शिक्षकले सुनाए ।

ति शिक्षकका अनुसार सब प्रक्रिया मिचेर गणितको शिक्षकलाई सरुवा सहमती दिनु समिति अध्यक्षको मनपरी हो । समिति अध्यक्ष त कानको उपचार गराउनुपर्नेमा आँखाको उपचार गराउन खोज्नुभएको छ । यो निर्णयले विद्यार्थीसँग बेइमानी हुन्छ ।

विद्यालयका प्रधानाध्यापक साहले गणित शिक्षकलाई सरुवाको सहमती दिने निर्णय आफूले नमानेको बताए । उनले भने, ‘विज्ञान विषयकै शिक्षक राख्नुपर्छ । समितिले जर्वजस्ती आवश्यकतै नभएको गणित शिक्षक ल्याएको छ । यो निर्णय मैले मानेको छैन ।’

गणित र विज्ञान दुबै विषय पढाउने समितिको भनाई रहेको प्रधानाध्यापक साहले बताए । आर्थिक प्रलोभनमा परेर विज्ञानको ठाउँमा गणित शिक्षक ल्याएको हो कि भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयमा मलाई थाहा भएन् । उनीहरुलाई थाहा हुन्छ ।’

यता, समिति अध्यक्ष यादवले गणित र विज्ञान दुबै विषयको शिक्षक रहेकाले यादवलाई सरुवा सहमती दिने निर्णय गरेको दावी गरे । उनले जिल्लामा सोध्दा गणित विषयको शिक्षकलाई पनि राख्न मिल्ने बताएपछि सरुवा अनुमति दिएको सुनाए । उनले भने, ‘आर्थिक प्रलोभनमा पारेर ल्याए कि के गरेर यही आएर बुझ्नुस् । आफै थाहा पाउनुहुन्छ ।’

स्रोतका अनुसार समिति अध्यक्ष यादव नेकपा एमाले समर्थित हुन् । शिक्षक यादव पनि एमाले लविकै छन् । त्यसैले उनलाई नै सरुवा सहमति दिने निर्णय गरिएको छ ।

प्रकाशित : २०७८ माघ २३, आईतवार १५:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ