मधेसमा संसदीय समिति नेतृत्वमा दलहरुको हानथाप


धनुषा । प्रदेश सभामा रिक्त रहेका विषयगत संसदीय समितिमा सभापतिका लागि दलहरुबीच हानथाप सुरु भएको छ । संसदीय समितिको सभापतिका लागि सर्वसम्मति गर्न दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सभापतिमा सर्वसम्मति गर्न दलका नेताहरुबीच शनिबार साँझ छलफल भएपनि सहमति हुन नसकेको का‌ंग्रेसका एक सांसदले बताए । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिका लागि नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो ।

प्रदेश सभा सचिवालयले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५, को नियम १४९ को उपनियम ९३० अनुसार माघ २४ गते सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन समय तोकेको छ । समितिबाट एकरएक जनाको उम्मेदवारी परे सर्वसम्मति हुने र एकभन्दा बढीले सभापति पदमा उम्मेदवारी दिए निर्वाचन प्रक्रिया अगाडि बढाइने प्रदेश सभा संसद् सचिवालयका सचिव रञ्जित यादवले बताए ।

माओवादी केन्द्रले सांसदबाट रामचन्द्र मण्डललाई बर्खास्त गरेपछि प्राकृतिक स्रोत तथा वातावरण समितिको नेतृत्व रिक्त छ । नेपाली कांग्रेसबाट कृषि तथा भूमि व्यवस्था समितिका सभापति भएका वीरेन्द्र सिंह मन्त्री नियुक्त भएपछि उक्त समिति रिक्त छ ।

सार्वजनिक लेखा समिति सुरुदेखि नै सभापति चयन हुन सकेको छैन । सार्वजनिक लेखा समितिमा ज्येष्ठताको आधारमा नेकपा (एमाले) का लगनलाल चौधरीलाई सभापतिको जिम्मेवारी दिएको थियो । सार्वजनिक लेखा समिति पद अहिले रिक्त रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।

जसपा अर्थ तथा योजना समितिमा मनिष सुमन, विकास समितिमा शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा अशोक यादवलाई चयन गरिसकेको छ । महिला बालबालिका समितिको सभापतिमा लोसपाका जयनुल राइन छन् । सात संसदीय समिति रहेकोमा तीनको सभापति जसपाले पाएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले सभापतिमा दाबी गरेको छैन ।

प्रमुख प्रतिपक्षीको हैसियतमा सार्वजनिक लेखा समितिको सभापति पनि लोसपाले पाउनुपर्ने सचेतक परमेश्वर साहले बताए । सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परा रहेपनि सत्ताधारी दलले दिन नचाहेको उनले बताए । सभापतिको विषय टुंगो लगाउन सोमबार नै संसदीय दलको बैठक राखिएको सचेतक साहले बताए ।

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) पनि सभापतिमा दाबी गरेका छन् । कांग्रेसले विगतमा पाएको सभापति आफूहरुले नै पाउनुपर्ने दाबी गरेका छन् । कांग्रेसमा सभापतिको आकांक्षी झण्डै आधा दर्जन सांसद रहेका छन् । कांग्रेस स्रोतका अनुसार मन्जु यादव, मोहम्मद समिम, नरेश यादव लगायतले सभापतिमा दाबी गरेका छन् ।

नेकपा (एस)ले पनि सभापतिमा दाबी गर्ने भएको छ । आफूहरुको दलले कुनै सभापति नपाएको बताउँदै नेकपा (एस) संसदीय दलका नेता समेत रहेका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले अब दाबी गर्ने बताए । – कान्तिपुरबाट

प्रकाशित : २०७८ माघ २४, सोमबार १०:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ