मौसममा गडबडी : तराईवासीलाई २४ घण्टे चेतावनी


काठमाडौं । नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार साँझ) प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही पहाडी भेगमा सामान्य बदली रही बाँकी प्रदेशमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश नं १ को पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

यस्तै भोलि दिउँसो पनि प्रदेश नं १ कै एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने राति देशका पूर्वी तथा पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

यसैगरी बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको बुलेटिनअनुसार बुधबार राति कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बागमती तथा प्रदेश नं १ का पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : देशका तराई भूभागमा बिहानपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रकाशित : २०७८ माघ २४, सोमबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ