जनकपुर : कार र पैसा लुटियो भनेर प्रहरीलाई झुटो सूचना दिने यी २ जना पक्राउ


जनकपुरधाम । धनुषामा कार र रुपैयाँ लुटिएको भनेर झुटो जानकारी दिएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीपनारायण यादव र उनका साथी आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । काल्पनिक घटनाको निवेदन दिएर प्रहरीलाई हैरानी परेसानी तथा गालीगलौज गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दीपनारायण र आशारामले गत सोमबार साँझ ६ बजे मोटरसाइकलमा आएका स्थानीय श्रवणकुमार चौधरीलगायत ३÷४ जना व्यक्तिले आफ्नो बा। १९ च ६६१४ नम्बरको कार र कारभित्र रहेको २ लाख रुपैयाँ लुटपाट गरेको भनी इलाका प्रहरी कार्यालय ९धनुषाधाम० मा टेलिफोनमार्फत जानकारी गराएका थिए ।

तत्कालै प्रहरी टोलिले खोजी सुरु गरी सोही राति श्रवणलाई नियन्त्रणमा लिएर दीपनारायण र आशारामकहाँ लगेका थिए । त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा नलुटिएको तथा रिसइबीका कारण श्रवणलगायतले लुटपाट गरेको आरोपको झुटो सूचना प्रहरीलाई दिएको स्वीकार गरेका छन् ।

झुटो सूचना दिएर प्रहरी कर्मचारीहरूलाई हैरानी परेसानी, गालीगलोज गरेकाले दुवै जनालाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० दिनको म्याद थप गराई अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७८ माघ २७, बिहीबार ०९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ