टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी सुरुवात


काठमाडौं । चार देशीय टी२० क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको छ ।

टी२० विश्वकपको छनोट प्रतियोगिताको अगाडि दुवै टोलीको परीक्षणको रूपमा रहेको खेलमा नेपालले ब्याटिङ र बलिङ दुबैमा अब्बल प्रमाणित गर्दै ओमानलाई पछि पारेको हो ।

नेपालको जीतमा तीव्र गतिका बलर अभिनाश बोहराको कसिलो बलिङ र दीपेन्द्रसिंह ऐरीको ब्याटिङ महत्त्वपूर्ण रह्यो । टस जितेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

जवाफमा नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । ऐरीले ५३ बल खेल्दै अविजित ७३ रन बनाएका थिए । शरद भेषवाकर चार रनमा अविजित रहे ।

आरिफ शेखले २५, आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए । नेपाली प्रशिक्षक पुबुदु दशानायकेले खेलाडीहरूलाई प्रयोग गर्ने क्रममा ओपनिङ जोडीमा प्रदीप ऐरी र आसिफ शेखलाई खेलाएका थिए ।

यस्तै उनले कुशल भुर्तेल र करण केसीलाई बेन्चमा राख्दै सागर ढकाल र विवेक यादवलाई पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिएका थिए । नेपालले खेलमा सात जना बलर प्रयोग गरेको थियो ।

प्रकाशित : २०७८ माघ २८, शुक्रबार १९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ