निर्वाचन रोक्ने रिट दरपिठ गरेको विरुद्ध मेयर साहले गराए सर्वोच्चमा मुद्दा दर्ता


जनकपुरधाम । आफ्नो कार्यकाल बाँकी रहेको भन्दै सर्वोच्च अदालतमा स्थानीय तहको निर्वाचन स्थगन गर्न हालेको रिट निवेदन सर्वोच्चले दरपिठ गरिदिएपछि सोविरुद्ध महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले मुद्दा दायर गरेका छन् ।

तत्कालिन प्रदेश २ मा तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएकाले आफ्नो कार्यकाल अझै अझै ६ महिना बाँकी रहेको भन्दै स्थानीय तहको निर्वाचन स्थगन गर्न साहले हालेको रिट सर्वोच्चले दरपिठ गरिदिएको थियो ।

मेयर साहले २०७४ असोज २ मा महोत्तरीमा स्थानीय तहको निर्वाचन भएकोमा वैशाख ३० गते चुनाव गर्दा धारा २१५ र २१६ अनुसारको पाँच वर्षे कार्यकाल पूरा हुन नपाउने जिकिर गर्दै रिट निवेदन दिएका थिए ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले स्थानीय तह निर्वाचन ऐनले चुनावका बारेमा प्रष्ट पारेकाले त्यसकै आधारमा रिट निवेदन दरपिठ गरिएको बताएका थिए ।

उनले स्थानीय तहको चुनाव जति चरणमा भएपनि पहिलो पटक भएको चुनावलाई आधार मान्ने कानुनी व्यवस्था भएकाले पहिलो पटक चुनाव भएका ठाउँमा पदाधिकारीले पाँच वर्षे कार्यकाल पूरा गर्ने अवस्था देखिएकाले निवेदन दरपिठ गरिएको बताएका थिए ।

लोकतान्त्रिक समाजवादीबाट निर्वाचित मेयर साहले नेपालको संविधानमा टेकेर हालेको निवेदन दरपिठ भएकाले त्यसविरुद्ध मुद्दा दर्ता गराएको बताएका छन् । शुक्रबार सर्वोच्चले उनको मुद्दा दर्ता गर्दै आगामी फागुन ४ गते सुनवाइ गर्ने जनाएको छ ।

प्रकाशित : २०७८ माघ २९, शनिबार १२:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ