मधेस बाहेक देशभर आजैदेखि खुल्यो शैक्षिक संस्था, भौतिक रुपमै पठनपाठन


काठमाडौं । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजदेखि मधेस प्रदेश बाहेक देशभर नियमित सञ्चालनमा आएको छ ।

शैक्षिक संस्था तथा स्थानीय तहले फागुन १ गतदेखि भौतिक रुपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरु हुने सूचना जारी गरेको थियो । सोही अनुसार शैक्षिक संस्थाहरु सञ्चालनमा आएको हो ।

मधेस प्रदेशमा आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको छ । त्यसैले मधेसमा आज पनि शैक्षिक संस्था बन्द रहनेछ । यस प्रदेश बाहेक देशभर आजैबाट शैक्षिक संस्था भौतिक रुपमै सञ्चालनमा आएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरको कारण विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन हुन सकेन । बिहान खुल्ने शैक्षिक संस्थामा आइतबार नै विद्यार्थीहरुको बाक्लो उपस्थिति देखिएको छ ।

त्यस्तै सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुने भएका छन् ।

प्रकाशित : २०७८ फाल्गुन १, आईतवार ०९:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ