बाह्रवर्षे मकर मेला : ५० लाखले गरे स्नान र अवलोकन


काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक–साँस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीको बाह्रवर्षे मकर मेलामा ५० लाखले स्नान तथा अवलोकन गरेका छन् । मकर सङ्क्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो ।

मेला समापनका दिन शनिबार राजधानी काठमाडौँको पूर्वतर्फ अर्थात् अरनिको राजमार्ग तथा बनेपा–पनौती सडकमा ‘ट्राफिक’ व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे नै परेको थियो । बिहानैदेखि सडक जाम हुँदा बनेपादेखि पनौतीसम्मको छ किलोमिटर सडकमा सवारी निषेधसमेत गरिएको थियो ।

काठमाडौँबाट पनौतीसँग जोडिएका अन्य वैकल्पिक सडकसमेत दिनभरजसो जाम नै थिए । मेला सुरुवातको हप्ता कोरोना सङ्क्रमणको जोखिमका कारण मकर–स्नान मात्र गर्न दिइएको थियो । त्यसयता कोरोना सङ्क्रमण मत्थर हुँदै जाँदा पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा भक्तजनको भीड लाग्दै गएको थियो ।

शनिबारसम्म करिब ५० लाख भक्तजनले मकर–स्नान तथा अवलोकन गरेको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । समितिका सचिवालय संयोजक ईन्द्रप्रसाद अधिकारीले एक महिनाको अवधिमा ५० लाख दर्शनार्थीले मेला अवधिभर पनौतीको अवलोकन, मठ–मन्दिरको दर्शन तथा स्नान गरेको जानकारी दिनुभयो ।

“कोभिडका कारण सुरुका दिन सुनसानजस्तै थियो, करिब १० दिनपछि दर्शनार्थीको घुइँचो लाग्दै गयो”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार बिदाका दिन करिब दुई लाखसम्मले मेला अवलोकन गरेका थिए । त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था रहँदै आएको छ ।

राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहेको छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बगेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आएको छ ।

इन्देश्वर महादेवलगायत मन्दिरका कारण पनौती महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिँदै आइएको छ । मेलामा काभ्रेपलाञ्चोकका अलावा राजधानीलगायत देशैभरबाट सहभागिता भएको नगरपालिकाले जनाएको छ । मेलामा नेपालका मात्र नभइ उत्तर भारत प्रयागबाट समेत तीर्थालु आएको नगरप्रमुख भीम न्यौपानले बताए ।

प्रकाशित : २०७८ फाल्गुन १, आईतवार १३:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ