नेपालकै पहिलो तीनमुखे पुल, फेसबुक र टिकटकमा भाइरल !


काठमाडौं । पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पुल, पार्क, सडकजस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पूर्वाधारहरू पनि पर्यटकीय सम्भावनाका साथ निर्माण हुन थालेका छन् ।

नेपालमै पहिलोपटक रिडीमा बन्दै गरेको तीनमुखे झोलुंगे पुल पनि आन्तरिक तथा बाह्य पर्यटकको राम्रो गन्तव्य बन्नेमा दुईमत छैन । सम्झौताअनुसार लामो समय काम नभएपछि पुलको विषयमा नागरिकस्तरमा आलोचना बढी र आशा कम थियो । पछिल्लो दुई वर्ष भने कामले गति लिएको छ ।

यो वर्ष निर्माण कम्पनीले सम्झौताअनुसारको काम पूरा गर्ने जनाएको छ । लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी अहिले तीनमुखे पुलका कारण थप चर्चामा आउन थालेको छ ।

०७१ सालमा तत्कालीन गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारी र तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालले यस पुलको शिलान्यास गरेका थिए । १५ असार ०७१ मा नौ करोड ८८ लाख २६ हजार तीन सय ३२ रुपैयाँको लागतमा नयाँबाटो–रुविना–मना जेभीले निर्माण कार्यको सम्झौता गर्‍यो ।

पुल सम्झौता भएको मितिले तीन वर्षमा पुल बन्नुपर्थ्यो । डिजाइन बन्न नै एक वर्ष बित्यो । विभिन्न प्राविधिक कारण र कोभिडले तीनपटक म्याद थप गरिएको स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक ललितपुरका इन्जिनियर गोपाल थापाले जानकारी दिए ।

उनले यो डिजाइनको पुल नेपालमै पहिलो भएको बताए । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको निर्माण व्यवसायी करणजित बर्माले बताए ।

कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पिल्लर निर्माण भएको छ । अब प्रत्येक लुठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झन्डा राख्ने संरचना निर्माणको काम बाँकी रहेको निर्माण व्यवसायी बर्माले बताए ।

यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका– १ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका– १४ अर्गली र गुल्मीमा रुरु क्षेत्र गाउँपालिका १ रिडी जोडेको छ । यो पुल निर्माणले स्थानीय उत्साहीत छन् ।

प्रकाशित : २०७८ फाल्गुन २, सोमबार ०६:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ