एमसीसी विरोधी प्रदर्शनले ‘रणमैदान’ बन्यो बानेश्वर !


काठमाडौं । अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्‌बाट पारित गर्न लागिएको भन्दै बुधबार संसद् भवन नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भएको छ।

प्रदर्शनकारी र प्रहरी आमने–सामने हुँदा नयाँ बानेश्वर क्षेत्र बुधबार रणमैदानजस्तै बन्यो । सत्तारुढ गठबन्धनको दल नेकपा माओवादी केन्द्रका भातृ संगठनहरु समेत सहभागी प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो ।

बुधबार बिहानपछि माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरु नारा–जुलुससहित नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अगाडि बढेका थिए । प्रहरीले उनीहरुलाई संसद् भवन नपुग्दै एभरेस्ट होटल नजिक रोकेको थियो ।

प्रदर्शनकारीहरुले निषेधित क्षेत्र समेत तोडेर संसद् भवन भएको क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासदेखि पानीका फोहोरासम्म प्रहार गर्‍यो ।

प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुङ्गामुडा गरेका थिए । सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी यथास्थितिमा (संशोधन नगरी) पारित गर्न नहुने पक्षमा छन् ।

गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता खारेज हुनुपर्ने पक्षमा छ । यस्तै, विभिन्न कम्युनिस्ट पार्टी र राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपा लगायतका पार्टीहरु पनि एमसीसीको विपक्षमा छन् ।

प्रकाशित : २०७८ फाल्गुन ४, बुधबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ