माननीयज्युहरु धेरै झुटो नबोलौं : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमसीसीका विषयमा झुटो कुरा नबोल्न सांसदहरुलाई आग्रह गरेका छन्। एमसीसीको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले एमसीसी कुनै पनि हालतमा नेपालको संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताए।

‘एक माननीयज्युले एमसीसी नेपालको संविधानभन्दा माथि हुन्छ भन्नुभएछ। माननीयज्युहरु धेरै झुटो नबोलौं। नेपालको संविधानभन्दा माथि केही कुरा हुनसक्छ?’ उनले प्रश्न गरे।

उनले माओवादी नेता गरिराजमणि पोखरेल मन्त्री भएकै बेला मन्त्रिपरिषद् बैठकले एमसीसी सहायतालाई स्वीकार गरेको स्मरण गराएका थिए। ‘माननीय गरिराजमणी पोखरेलले एमसीसीलाई राष्ट्रघाति भन्नभएछ। म उहाँलाई स्मरण गराउन चाहन्छु। तपाइँ मन्त्री भएकै बेला एमसीसीको विषय मन्त्रिपरिषद्‍बाट पास भएको हो। धेरै झुटो कुरा नगरौं।’

उनले एमसीसीको कानुन अन्नतकालसम्म रहने हावादारी कुरा नगर्नसमेत आग्रह गरे। उनले अन्य परियोजनाजस्तै एमसीसी सम्झौता गरिएको बताए। ‘एमसीसी सम्झौता नेपालका अन्य परियोजनाभन्दा केही फरक छैन। मेल्मची परियोजनाकै सम्झौता हेरौं। त्यसभन्दा यो के कुरामा फरक छ?,’ उनले प्रश्न गरे।

उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालकै पालामा एमसीसी अनुदानको प्रक्रिया प्रारम्भ भएको बताउँदै अहिले विरोध गर्नुको तुक नरहेको बताए। उनले नेपालको परराष्ट्र नीतिअनुसार मित्र सबै राष्ट्रहरुसँग अनुदान लिन पाउनुपर्ने बताए।

प्रकाशित : २०७८ फाल्गुन १५, आईतवार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ