जसपाले उम्मेदवारलाई दिने टिकटमा अशोक राईको हस्ताक्षर रहने, उपेन्द्र यादव आउट !


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको चुनावमा उम्मेदवारलाई दिने टिकटमा कसको हस्ताक्षर हुने विवाद सुल्झाएको छ ।

पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर रहने निर्वाचन आयोगलाई जानकारी गराएको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए । यसअघि टिकट वितरणमा कसको हस्ताक्षर रहने भनी पार्टीमा विवाद थियो ।

टिकट वितरणमा आफ्नो हस्ताक्षर रहने दाबी पार्टीका अध्यक्ष उपेन्द्र यादवको थियो । तर संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एक जना हस्ताक्षर आफूले स्वीकार नगर्ने बताउँदै दुई जनाको हस्ताक्षर हुनुपर्ने अडान लिएका थिए ।

त्यसपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले टिकट वितरणमा दुई जनाको हस्ताक्षर नहुने बरु वरिष्ठ नेता अशोक राईलाई हस्ताक्षरकर्ता राख्न प्रस्ताव गरेका थिए । त्यसमा पनि अध्यक्ष भट्टराईले असहमति जनाउँदै दुईजना हस्ताक्षरकर्ता हुनुपर्ने अडान लिएका थिए ।

यो विवाद कार्यकारिणी समितिबाट नटुङ्गिने भएपछि यसलाई सहमतिमा टुङ्ग्याउनका लागि अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो ।

उनीहरू बीचमा आज भएको छलफलबाट अशोक राईलाई हस्ताक्षरकर्ता राखिने सहमति भएको जसपा प्रचार प्रसार विभागका प्रमुख डम्बर खतिवडाले बताए । उनले अब जसपामा कुनै प्रकारको विवाद नरहेको र जसपा एकजुट रहने प्रतिक्रिया दिए ।

पार्टी विभाजन हुन्छ भन्ने हल्ला आजबाट समाप्त भएको बताउँदै खतिवडाले छलफलबाट सबै कुरा मिलाउँदै जाने तीन नेताको बीचमा सहमति भएको जानकारी दिए ।

प्रकाशित : २०७८ फाल्गुन १६, सोमबार ०६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ