सिरहा: फेसबुकबाट चिनजान र विवाह, १९ दिनमै पत्नीको हत्या


जनकपुरधाम । सिराहा कर्जन्हा नगरपालिका–७ मा १७ फागुनमा एक महिलाको शव फेला पर्‍यो । कर्जन्हा नगरपालिका–७ स्थित कमला नदीको किनारको काँसघारीमा महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरी अनुसन्धानले उक्त शव काठमाडौं महानगरपालिका २० का देवचन्द्र पोदारकी २२ वर्षीया छोरी पूजाकुमारी पोदारको भएको पुष्टि गर्‍यो । उनको हत्यामा संलग्न आरोपमा उनकै श्रीमान् सिराहा कर्जन्हा नगरपालिका–७ प्रेमनगरका २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका राउतलाई जिल्ला अदालत सिराहाबाट आठ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक (एसपी) अर्जुनप्रसाद तिमिल्सिनाले बताएका छन् ।

भद्रकालीमा विवाह र कमला नदीमा हत्या
वैदेशिक रोजगारीका लागि कतारमा बस्दै आएका अमर राउतसँग काठमाडौंमा कानुन विषय अध्ययनरत पूजा पोदारको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएको थियो ।

कतारबाट तीन वर्षपछि राउत गत १३ माघमा नेपाल फर्किएका थिए । पोदारले त्रिभुवन विमानस्थलमै पुगेर राउतलाई रिसिभ गरेकी थिइन् । त्यसपछि बाफलस्थित डेरामा दुवैजना सँगै बस्न थालेका थिए । दुवैजनाको सल्लाहमै गत २७ माघमा काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका थिए ।

विवाहपछि राउत ५ फागुनमा कर्जन्हास्थित घर गएका थिए । उनी श्रीमतीलाई घर भित्र्याउनेबारे सल्लाह गर्न गएका थिए । घरमा परिवारजनका सदस्यहरूले पूजालाई घर भित्र्याउन नहुने र आफ्नै जातिमा विवाह गर्नुपर्ने अडान राखे । त्यसपछि राउतले पनि पूजालाई बेवास्ता गर्न खोजे ।

परिवारकै दबाबमा राउतले यही २७ फागुनमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका तुल्सियाहीकी एक युवतीसँग विवाह गर्ने तय पनि भयो । आफूलाई बेवास्ता गरेपछि पूजाले प्रेमनगरस्थित घर आउने बताइन् ।

उनी १६ फागुनमा काठमाडौंबाट सिराहाको बस्तीपुर चोक पुगिन् । घर आइपुगेको थाहा पाएपछि राउतले साथीहरूसँग हत्याको योजना बनाएका थिए । उनले पूजालाई बस्तीपुर चोकबाटै साथीहरूको सहयोगमा घर नलगेर कमला नदीको काँसघारीमा लगेका थिए । त्यहीँ पूजाको घाँटी थिचेर हत्या गरी शव छाडेर हिँडेका थिए ।

प्रहरीले हत्याको भोलिपल्ट (१७ फागुन) शवबारे सूचना पाएपछि अनुसन्धान सुरु गरेको थियो । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर मगाएर अनुसन्धान गरिएको थियो ।

कुकुरको सहयोगमा प्रहरीले हत्या गर्ने व्यक्तिको पहिचान गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) तिमिल्सिनाले बताए । पूजाको शव गत शुक्रबार सनाखत भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पूजाको यसअघि पनि विवाह भएको थियो । तर, पहिलो श्रीमान्ले छाडेको बारे राउतले पछि मात्रै थाहा पाएपछि समस्या बढेको खुलेको छ ।

प्रकाशित : २०७८ फाल्गुन २३, सोमबार ०८:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ