सफलता : अन्तर्राष्ट्रिय वायुसेवा हाँक्ने नेपाली महिला


काठमाडौं । अन्तर्राष्ट्रिय वायुसेवा व्यापारसँग जुनु मलेकुको नाम जोडिएको १७ वर्ष भयो । पछिल्ला चार वर्षदेखि उनी हङकङको राष्ट्रिय ध्वजावाहक वायुसेवा क्याथे प्यासिफिक एयरवेजको नेपाल प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । काठमाडौंलाई अन्तर्राष्ट्रिय गन्तव्यमा जोड्ने २० वटा अन्तर्राष्ट्रिय वायुसेवाको नेतृत्वमा उनी एक्ली महिला ‘नेपाल प्रमुख’ हुन् ।

अन्य वायुसेवा कम्पनीको नेतृत्वमा पुरुष छन्, जसमध्ये केही नेपाली, केही विदेशी छन् । नेपाल प्रमुख भएपछि उनको धपेडी बढ्ने नै भयो । उनका लागि हङकङ त पानीपँधेरो जस्तै भयो । यसबाहेक थाइल्यान्ड, दुबई, श्रीलंका, बंगलादेश, भारतमा सयपटकभन्दा बढी उनले बैठक, सेमिनार, तालिम आदिका लागि यात्रा गरिसकेकी छन् ।

नेपालको राष्ट्रिय ध्वजावाहक वायुसेवा (वि.सं. २०१५) भन्दा १२ वर्षअघि स्थापना भएको हङकङको क्याथे नेपालमा आउजाउ गर्न थालेको १५ वर्ष भयो । पहिला यसले क्याथे ड्र्यागनका नामले हङकङ–काठमाडौं–हङकङ उडान गर्थ्यो । अहिले क्याथे प्यासिफिकका नामले नेपालसँग जोडिएको छ ।

क्याथेले चीन, जापान अस्ट्रेलियालगायत पूर्वी एसियाली मुलुक जाने नेपाली विद्यार्थी र व्यापारीलाई लक्षित गरेको छ भने नेपाल आउँदा पर्यटक ल्याउने गर्छ । नेपाल आउने विदेशी हवाई सेवा कम्पनीमध्ये क्याथे धेरै कार्गो बोक्नेमा पर्छ । कोरोना संक्रमणले विश्व पर्यटन बजार ठप्प भयो । पर्यटक नभएपछि क्याथे कार्गो चार्टर उडानतर्फ मोडियो । हङकङबाट मेडिकल र विद्युतीय सामान ल्याउने, यताबाट छुर्पी, गलैंचा, जडीबुटी ओसार्ने काममा क्याथेले अनुमति पायो ।

यी सबै काममा जुनु कतै न कतै जोडिएकी छन् । नेपालको पर्यटन बजारमा ललितपुरकी ४२ वर्षीया जुनुलाई धेरै ट्राभल–ट्रेडमा आबद्ध व्यवसायीले सरल उड्डयनकर्मीका रूपमा चिन्छन् । नेपालको उड्डयन क्षेत्रमा उनको पहिचान थोरै तर स्पष्ट बोल्ने र ‘फेयर बिजनेस’ रुचाउने लिडरको छ । उनकै भाषामा भन्दा चौबीसै घण्टा ‘स्ट्यान्ड–बाई’ अवस्थामा रहनैपर्छ ।

बिदा वा राति भनेर मोबाइल बन्द गरेर ‘गायब’ हुन पाइँदैन । केन्द्रीय कार्यालयको सम्पर्कमा इमेल वा मोबाइलबाट हाजिर लगाइरहनुपर्छ । काम भएका बेला दसैं, तिहार, पारिवारिक काम भन्न पाइँदैन । नेपालबाट हुने निर्यात तथा यात्रु सेवाको व्यापारमा अन्य नेपाली तथा विदेशी गरी दर्जन हाराहारी वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्छ ।

जुनु ११ वर्षअघि ०६७ सालमा क्याथेमा असिस्टेन्ट सेल्स म्यानेजरका रूपमा प्रवेश गरेकी थिइन् । त्यसताका उनले बढीमा ४र५ वर्षमात्रै यो वायुसेवामा काम गर्न सकिएला भनेर सोचेकी थिइन् । तर, उनको सोच गलत साबित भइदियो । त्यहाँ छिरेको एकै वर्षमा उनी बढुवा भई सेल्स म्यानेजर बनिन् । ०६८ देखि ६ वर्ष नेपालको सेल्स म्यानेजर पद सम्हालेकी उनी ०७४ देखि क्याथेको नेपाल प्रमुख ९कन्ट्री लिड० पदमा छिन् ।

नेपाल कार्यालयमा उनलाई साथ दिन २५ जना कर्मचारी छन् । लकडाउनअघि सातामा ५ वटासम्म उडान गर्ने उनको वायुसेवाले लकडाउनका क्रममा अत्यधिक मेडिकल चार्टर उडान गर्‍यो । यो क्रम अझै जारी छ । जावलाखेलस्थित सेन्ट मेरिज स्कुलबाट ०५१ सालमा एसएलसी र त्रिभुवन विश्वविद्यालयबाट ०६० सालमा एमबीए अध्ययन गरेकी उनी नेपालमा मोबाइल फोन र इन्टरनेटको विस्तार हुँदै गरेका बेला वायुसेवासँग जोडिन पुगिन् ।

कतार एयरवेजको नेपालस्थित जीएसए (जेनरल सेल्स एजेन्ट) कार्यालय जेनिथ ट्राभलमा उनी सञ्चालक जोय देवानको असिस्टेन्टका रूपमा प्रवेश गरेको महिना दिन बित्दै थियो, त्यही बेला रोजगारीका लागि इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाले निर्ममतापूर्वक हत्या गर्‍यो । त्यसको असरले नेपालमा दंगा फैलियो ।

आक्रोशित नेपालीले म्यानपावर कम्पनी, वायुसेवा, ट्राभल एजेन्सी र सञ्चारगृहमा तोडफोड गरे । त्यो भीडले उनको कान्तिपथस्थित कार्यालयलाई पनि बाँकी राखेन । स्वस्फूर्त सडकमा उत्रिएको उत्तेजित भीडबाट उनी ज्यान जोगाउन सफल भइन् तर उनको कार्यालयमा पसेको भीडले पोसाक, झोला, मोबाइल, पैसा, सरसामान नष्ट गरिदियो । उक्त घटनाले उनी विचलित भइनन्, अन्यत्र पनि गइनन् ।

जेनिथमा काम थालेको ६ महिनामै उनले कतार एयरवेजको प्रत्यक्ष सेल्स विभागको काम पाइन् । त्यसबेला हवाई टिकट हातैले बनाउने चलन थियो । नेपालमा गल्फ, थाई, पाकिस्तान इन्टरनेसनल एयरलाइन्स आदि विदेशी वायुसेवा थिए तर कतारले नेपाली बजारमा एकलौटी व्यापार गरिरहेको थियो ।

उनले त्यहाँ काम गर्दा विभिन्न दूतावास, अन्तर्राष्ट्रिय दातृ निकाय र ट्राभल एजेन्सीमा जानुपर्ने । तिनका सञ्चालक वा प्रमुख व्यक्तिसँग हवाई टिकटको व्यापारका लागि डिल गर्नुपर्ने हुन्थ्यो । कतारमै छँदा उनले टिकटिङ सिस्टम तथा रिजर्भेसनको ज्ञान लिइन् । विमानस्थलमा पुगेर ‘लोयल्टी कार्ड’ भर्ने तरिका र यसका फाइदाबारे यात्रुलाई सिकाइन् । त्यसबेला धेरै विदेश ओहोरदोहोर गर्ने नेपालीलाई लोयल्टी कार्डबाट हुने लाभबारे जानकारी नै थिएन ।

एयरलाइन्सका लागि व्यापार ल्याउन उनी सुरुवाती दिनमा काठमाडौंका विभिन्न दूतावास, विकास साझेदार संस्था, अवैतनिक दूत, कन्सलटेन्सी, ट्राभल एजेन्सीमा त पुग्थिन् । कहिलेकाहीं काठमाडौंबाहिर पोखरासम्म पनि एक्लै जानुपर्ने हुन्थ्यो । ‘पोखरामा ब्रिटिस गोर्खा भर्ती गर्ने कार्यालयमा पनि जान्थें,’ उनले भनिन्, ‘त्यो बेला अहिले जस्तो सहज भइसकेको थिएन, म व्यापारका लागि विभिन्न व्यक्तिसँग मिटिङ गर्थें तर व्यापार दिनेहरू हामीले त्यसबापत के पाउँछौं रु भन्थे । कतिपयको सोच र धारणा नै दूषित हुन्थ्यो । रेस्टुरेन्टमा हुने भेटमा कतिपय मदिरा खान त कतिपय चुरोट खान कर गर्थे ।’

नेपालमा वायुसेवा, होटल, ट्राभल, ट्रेकिङ, हिमाल आरोहण, उडानमा विदेशीहरू कुनै न कुनै हिसाबले काम गरिरहेका छन् । नेपाली श्रम बजारमा यी क्षेत्र हाँक्ने जनशक्ति पर्याप्त छैन । यस्तो बेला विदेशी वायुसेवा हाँक्ने ठाउँमा नेपाली महिला पुग्दा समाजमा खुसी छाउनुपर्ने तर धेरै मानिस दुःखी भएको उनले पाइन् । ‘यहाँ त गोरो छाला भएका वा पुरुष नै संस्थाको प्रमुख भएको हेर्न, देख्न चाहने अझै छन्, महिलाले नेतृत्व गर्दा खुट्टा तान्ने प्रवृत्ति देखियो,’ उनले १७ वर्षको अनुभवलाई सारमा भनिन् ।

उनको भोगाइमा अहिले पनि नकारात्मक मानसिकताबाट ग्रसित व्यक्तिहरूको उपस्थिति कतै न कतै देखिन्छ । ‘मेरो अनुभवले नयाँ पुस्ताका महिलालाई लोभमा नपर्न र आफू स्पष्ट हुन सल्लाह दिन्छु,’ दिगो भोलिका लागि लैंगिक समानता नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर मनाइरहेको सन्दर्भ जोड्दै उनले सोमबार कान्तिपुरसँगको कुराकानीमा भनिन्, ‘यसबीचमा थुप्रै नेपाली, मध्यपूर्वी इस्लामिक, भारतीय, चिनियाँ र अंग्रेजहरूसँग सहकार्य गरें । यीमध्ये हाम्रै समाजमा महिलालाई समस्या देखें ।’

यस्तो दुर्व्यवहारको अन्त्य गराउने पहिलो पाठशाला घर भएको बताउँदै उनले आफ्नी ११ वर्षीया छोरी जारा र ९ वर्षीय छोरा जेएलाई घरबाटै समानताबारे सिकाइरहेको बताइन् । ‘म दुवै सन्तानलाई समान व्यवहार गर्छु, मेरा श्रीमान् र परिवार सहयोगी भएकैले विदेशी वायुसेवालाई समय दिन पाएको छु,’ उनले भनिन् ।

यो १७ वर्षमा उनले बनाएको टिकटकबाट लाखौं नेपाली सात समुद्रपारि पुगे । उनी जब विमानस्थलमा पुग्छिन् । त्यहाँ देखिने यात्रुहरूको खुसी र आनन्दले उनलाई स्पर्श गर्छ । ‘जब कोही बाआमा वर्षौंदेखि टाढिएका छोराछोरी भेट्न विदेश जाँदै गरेका हुन्छन् वा कुनै नेपाली दाजुभाइ घरखेत बेचेर परिवारको सपना पूरा गर्न काठमाडौं विमानस्थलबाट उड्छन्, मलाई ती अनुहारमा देखिने भावले छुन्छ, तिनमा देखिने खुसीले म भावुक हुन्छु,’ जुनुले भनिन्, ‘जीवन यात्रा हो । म त्यही यात्रामा जानेहरूको टिकट मिलाउने, सरसामान पुर्‍याउने अर्को यात्रामा आनन्द लिइरहेकी छु ।’ – कान्तिपुरबाट

प्रकाशित : २०७८ फाल्गुन २४, मंगलवार १३:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ