सर्लाही कांग्रेस सभापतिमा सिंह विजयी


सर्लाही । सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् ।

शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उपसभापति बाहेक सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।

सभापतिमा संस्थापन पक्षका उम्मेदवार सिंहले कोइराला पक्षका उम्मेदवार लक्ष्मण रायलाई ३ सय ८० मतले पराजित गरे । सिंहले १ हजार ७ सय ५८ मत पाए भने उनका प्रतिस्पर्धी पूर्वसभापति समेत रहेका रायले १ हजार ३ सय ७८ मत मात्र ल्याउन सफल भए ।

उपसभापति पदमा संस्थापनकै डा. सरोजले १ हजार ७ सय ६४ र इतर पक्षका नविन अधिकारीले १ हजार ४ सय ९३ मत ल्याइ विजयी हात पारे । उपसभापतिमा संस्थापनकै शेख सहदुल्लाहले १ हजार ४ सय ७४ मत र रवीनन्दन चौधरीले १ हजार ३ सय १४ मत मात्र प्राप्त गरे ।

यस्तै, सचिवमा संस्थापनकै निरज कार्कीले १ हजार ७ सय २६ र मनोज यादवले १ हजार ४ सय २६ मत प्राप्त गरी विजयी भए भने इतर पक्षका नरेन्द्र भट्टराइले १ हजार ३ सय ९९ र कृष्ण रायमाझीले १ हजार ४ सय १२ मत मात्र ल्याउन सके ।

यस्तै, सहसचिव पदमा पनि संस्थापन पक्षकै इन्द्र योञ्जनले १ हजार ७ सय ११ र सुनिल कुशवाहाले १ हजार ५ सय ७९ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी इतर पक्षका दिनेश मिश्रले १ हजार २ सय ३७ र सूर्य खड्काले १ हजार ३ सय ६५ मत मात्र ल्याउन सफल भए ।

कांग्रेसको कुल ३ हजार २ सय ८७ मतदाता रहेको सर्लाहीमा ३ हजार १ सय ७४ जनाले मतदान गरेका थिए । – कान्तिपुर

प्रकाशित : २०७८ फाल्गुन ३०, सोमबार ०७:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ