जनकपुरधाम । एक महिनादेखि जनकपुर–जयनगर रेल ‘ड्रायरन’ गरिरहेको छ । दिनमा एकपटक जयनगरबाट कुर्थासम्म यात्रुविना रेल ओहोरदोहोर गरिरहेको छ । गत फागुन १ गतेदेखि उद्घाटन नहुँदै ‘ड्रायरन’ सुरु गरिएको थियो ।
‘ड्रायरन’ सफल भएपनि उद्घाटन मिति अझै टुङ्गो लाग्न नसकेको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए । उनकाअनुसार कानुन अभावमा उद्घाटन तथा यात्रुसहित सञ्चालनको मिति तय हुन सकेको छैन ।
“प्राविधिक रूपमा सबै तयारी भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन्,” उनले भने, “भाडादर पनि निर्धारण भइसकेको छ । अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको छैन ।”
विभागले फागुन दोस्रो साता नै दुवै देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी गरेको थियो । तर कानुन अभावसँगै नेपालको राजनीतिक उतारचढाव र भारतको चुनावको कारण उद्घाटनमा ढिलाइ भएको उनको तर्क छ ।
गत मंसिर १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलवे सञ्चालनसम्बन्धी अध्यादेशको प्रस्ताव ल्याएकी थिइन् । ६० दिनभित्र अध्यादेश सम्बन्धित मन्त्रीले सदनमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, सो अवधिमा सदनमा रेलवे अध्यादेश पेस नभएपछि स्वतः निष्क्रिय भएको थियो ।
आम्दानी शून्य, खर्च ३० लाख बढी
एक महिनाको अवधिमा करिव ३० लाख जति खर्च भएको महाप्रबन्धक झाको अनुमान छ । अहिलेसम्म कुनै पनि कामको भुकुतानी नभएकाले यकिन लागत खर्च भन्न नसकिने उनले बताए । उनकाअनुसार प्रति दिन १२५ लिटर तेल खर्च भइरहेको छ । त्यो हिसाबले २५ सय देखि तीन हजार लिटरसम्म तेल एक महिनामा खर्च भएको छ भने कार्यालय व्यवस्थापन र कर्मचारीमा बढी खर्च भएको छ ।
अहिले ५८ नेपाली र १६ जना भारतीय कर्मचारी खटिरहेका छन् । कर्मचारी खर्च नै २० लाख भन्दा बढी रहेको उनले जनाकारी दिए ।
महिनामा १५ दिन मात्रै
आजदेखि एक दिन बिराएर रेल चलाउने विभागको तयारी छ । खर्च थेक्न नसकेर विभागले एक दिन बिराएर महिनामा १५ दिन रेल चलाउन लागिएको हो । विदाको दिन रेल चल्ने गरेको छैन् ।
“रेलवे उद्घाटनको मिति तय हुन सकिरहेको छैन । आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाउने छौँ,” महाप्रबन्धक झाले भने, “सरकारले अध्यादेश पुनः ल्याउने तयारी पनि गरेको छ । कानुन नभएसम्म एकदिन बिराएर नै चलाउछौँ ।”
‘ड्रायररन’ सफलतापुर्वक सञ्चालन भइरहेपनि जनचेतनाको अभाव देखिएको उनले बताए । “पशु चौपाया अझै लिकमै हुन्छन् । जसको कारण अहिले ४५ मिनेट ढिलो भइरहेको छ,” उनले भने, “रेलवे लिक क्रस गरी बनाइएको बाटोले गर्दा स्लो गतिमा रेल चलाउनु परेको छ । खाली ठाउँमा ५० र बजार क्षेत्रमा १० देखि १५ किलोमिटर प्रतिघण्टाको स्पिडमा चल्ने गरेको छ ।”
जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् ।
जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । – बाह्रखरी