जनकपुरमा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न, श्रद्धालुले यसरी गरे दान


सिबेन्द्र रोहिता, जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न भएको छ ।

अन्तरगृह परिक्रमामा लाखौँ श्रद्धालुहरुको सहभागिता रहेको देखिएको छ । अन्तरगृह परिक्रमा घुम्ने क्रम बिहीवार मध्यरातदेखि नै सुरु भएको थियो । परिक्रममा सहभागी श्रद्धालुहरुले सडकमै गरिब विपन्नलाई दान गरेका छन् ।

१५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त एवं भक्तजनहरुको लावालस्कर हिजो साँझ जनकपुरधाम आइपुगेको थियो । आज बिहान यहाँ पञ्चकोशी ९अन्तरगृह० परिक्रमा गरी परिक्रमामा सहभागीहरु आ-आफ्नो घर फर्कने छन् ।

मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने मान्यता छ । जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो ।

यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ ।

प्रत्येक वर्ष झैं यस वर्षपनि अन्तरगृह परिक्रमामा श्रद्धालुहरूको भीड देखिएको छ । मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तरगृह गरी तीनवटा परिक्रमाको बारेमा उल्लेख रहेको पाइन्छ ।

आज अन्तरगृह परिक्रमा समापन भएकाले भोली शनिवार मात्र जनकपुरधाममा होली पर्व मनाइनेछ । तर जनकपुरधाम बाहेक तराई मधेसका जिल्लाहरुमा आजै होली मनाइदैछ ।

प्रकाशित : २०७८ चैत्र ४, शुक्रबार ०८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ