काठमाडाैँ । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ ।
कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको भेटवार्तामा सो सहमति भएको हो ।
मन्त्री श्रेष्ठले नेपाल र कतारबीचको श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे समकक्षीलाई जानकारी गराएका थिए ।
सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रूप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।गत मङ्सिरमा काठमाडौँमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भएको थियो ।
नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।कतारमा काम गरेर फर्केका नेपालीहरूको आर्थिक सामाजिक पुनः एकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ ।
नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो । भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभुति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र २४ घण्टे बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागितालगायत विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रमुख श्रम गन्तव्यका रूपमा रहेको कतारमा तीन लाख बढी नेपाली श्रमिक कार्यरत रहेका छन् । मन्त्री मारीले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।
भेटवार्तामा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालका साथै नेपाली दुतावासका अधिकारीहरू उपस्थित थिए भने कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीसमेत रहेका थिए । – रासस