तमलोपाले सार्वजनिक गरे चुनाव लक्षित घोषणा पत्र


काठमाडौं । नवगठित तराई मधेस लोकतान्त्रिक पार्टीले स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र सङ्कल्पसहित १५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरण र नयाँ युगको थालनीको रूपमा स्थानीय तहको निर्वाचनलाई तमलोपाले लिएको छ ।

तमलोपाले जारी गरेको घोषणापत्रमा जनता स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने उल्लेख छ । तमलोपाले संघर्षको पथ ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित समेत गरेको छ ।

दश प्रदेशीय राज्य पुनःसंरचना, संविधानको संशोधन, राज्य प्रायोजित आप्रवासन, प्रदेशको भूमि प्रदेशकै भूमिहीन, दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रम शक्ति, शिक्षामा सहज पहुँच, कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागिदारी, मधेस विकासको निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसङ्ख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यवहारिक विदेश नीतिलगायतका पार्टीको महत्त्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए ।

तमलोपाले स्थानीय निर्वाचन र पार्टीबारे छलफल गर्न जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा स्थानीय चुनावमा होमिनु परेको बताए उनले भने, ‘दलीय भागबण्डा, भ्रष्टाचार, जातिवाद, उम्मेदवार खरिद बिक्री आदिका कारणले दृष्टि, सीप, अभिव्यक्ति, सोच, प्रतिबद्धता भएकाहरू अगाडि आउन र सहर तथा गाउँको विकासमा योगदान दिन आह्वान छ ।’

अध्यक्ष लालले आफ्नो पार्टी खिचडी गठबन्धनको पक्षमा नरहेको समेत स्पष्ट पारे । लोकतन्त्रका निमित्त लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन जरुरी रहेको उनको भनाई छ । नेपाली काँग्रेस वामपन्थीहरूको ‘हात बढाएर घाँटी समात्ने’ षडयन्त्रको जालोमा फसेको अध्यक्ष लालको दाबी छ ।

सो कार्यक्रममा तमलोपाका वरिष्ठ नेता डा.विजय कुमार सिंहले तमलोपा भविष्यमा देशलाई राजनीतिक विकल्प दिने दाबी गरेका छन् । उनले लोसपा, जसपा लगायतका पार्टीहरू चुनावका लागि मात्र संविधान संशोधनको कुराहरू गरेको जिकिर गरे ।

प्रकाशित : २०७८ चैत्र १२, शनिबार १९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ