शाखा अधिकृतको परीक्षा फेरि स्थगित, अब चुनावपछि !


काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ ।

यो परीक्षाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘धेरै उम्मेदवारहरु भएकाले र दिपायलदेखि जुम्लासम्म पनि परीक्षा हुने भएकाले परीक्षा व्यवस्थापन गर्नै नसक्ने अवस्था आयो ।’

शाखा अधिकृत पदको परीक्षाको विज्ञापन गत मंसिर महिनामा प्रकाशित भएको थियो । त्यतिबेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो ।

तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि लोक सेवा आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो । यही बीचमा फेरि थारु कल्‍याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवण कुमार चौधरीले थारु आरक्षणबिना विज्ञापन प्रकाशित गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिट आज न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट हेर्न नभ्याउनेमा परेपछि फैसला हुन सकेन । यो मुद्दामा अब कहिले सुनुवाइ हुन्छ भन्ने एकीन छैन । अर्को हप्ता सर्वोच्चले परीक्षा लिने बाटो खोलिदिए पनि परीक्षा व्यवस्थापन गर्न नसकिने लोक सेवा आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने, ‘शाखा अधिकृतको यो परीक्षामा धेरै परीक्षार्थीहरु छन् । परीक्षा लिन जनशक्ति पनि धेरै परिचालन गर्नुपर्छ, तयारी त्यसै अनुसारको गर्नुपर्ने भएकाले थोरै समयमा परीक्षा लिन सकिंदैन ।’

प्रकाशित : २०७८ चैत्र १४, सोमबार ०६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ