मधेसका जिल्लाहरुमा आज सतुवाइन पर्व मनाइयो


जनकपुरधाम । मधेसका महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लाहरुमा आज सतुवाइन (सातु खाने) पर्व मनाइएको छ ।

सतुवाइन पर्व मनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने परपम्परा मधेस क्षेत्रमा रहेको छ । आज यस क्षेत्रका प्रत्येक घरमा सतुवाइन पर्व मनाइएको जलेश्वर नगरपालिका ८ का पण्डित कालिकान्त झाले बताए ।

चना, मकै, जौ, भटमासलगायत वस्तुलाई भुटेर त्यसलाई पिँधेर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलामा सतुवाइन पर्व मनाइने चलन रहेको यालना विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले बताए ।

सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलामा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेको जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठकले बताए ।

आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानुअघि सबैभन्दा पहिले सातु खाने गर्दछन् भने सातुलाई चिनी, सख्खर वा आफ्नो स्वादअनुसार नुनसँग पनि खाने चलन छ ।

सतुवाइन पर्वका दिन घरमुलीले सबैको हात हातमा सातु दिँदै शितल र स्वस्थ्य रहनु भनेर आशिर्वादसमेत दिने गर्दछन् । परिवारका सबै सदस्यले यस दिनमा पहिलो खाने कुरा सातु खाने परम्परा छ ।

ठूलाबडाले सानालाई प्रदान गर्ने सातु खान र आशिर्वाद थाप्न यस दिनमा घरका आफन्तका साथै नातेदार, टोल छिमेक, ईष्टमित्र सबैका बालबालिकादेखि परिवारका सबै सदस्य प्रतिक्षारत रहन्छन् ।

घरमूलीले बिहानै उठेर कुलदेवताको पूजाअर्चना गर्दै सबैभन्दा पहिले कुल देवतालाई सातु चढाउने गर्दछन् । पूजा गरेर ल्याइएको प्रसादमा मिलाएर सबैलाई सातु खुवाउने परम्परा छ ।

प्रकाशित : २०७९ बैशाख १, बिहीबार १६:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ