रेशम चौधरीलाई मैले किन भेट्न नहुने ? भोलि नै सिरियस कुरा गर्दैछु : प्रचण्ड


काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाप्रति दुःख व्यक्त गर्दै त्यसले ठूलो असर पारेको बताएका छन् ।

बिहीबार कैलालीको मसुरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा टीकापुर घटनाले थुप्रै असर पारेको बताउँदै उक्त घटनामा सामेल नभएकाहरु जेलमा रहनुमा अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरे ।

अध्यक्ष प्रचण्डका अनुसार घटनाका मुख्य योजनाकार भनिएका निलम्बित सांसद रेशम चौधरी दोषी रहेका छन् । घटनामा रेशम चौधरीको कुनै सहभागी नरहेको पनि प्रचण्डको भनाइ थियो ।

प्रचण्डले भने, ‘घटनामा सामेल नहुने व्यक्ति अहिले जेलमा छन् । तपाईहरुलाई थाहै छ रेशम चौधरी । म दोस्रो चोटी प्रधानमन्त्री हुँदा रेशम चौधरीलाई मैले नयाँ दिल्लीमा भेटेको थिएँ । र, रेशमलाई भेट्यो भनेर मिडियामा ठूलो आलोचना भएको थियो । तर, मैले रेशमलाई भेट्न नहुने के कारण छ ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु भित्र पनि भेट्न सक्छु भनेको थिए । हिजो मात्रै मेरो सचिवालय प्रतिनिधि गएर रेशम चौधरीसँग कुरा भएको छ र उहाँको समस्या समाधान गर्न सरकारसँग म भालि नै सिरियस कुरा गर्दैछु ।’

सुदूरपश्चिमका तमाम राजनीतिक र आर्थिक पाटोका समस्या माओवादीले बोक्ने अध्यक्ष प्रचण्डले बताए । साथै, थारु समुदायको हक, अधिकारको लागि कदम अघि बढाउने पनि प्रतिबद्धता प्रचण्डले जनाए ।

प्रकाशित : २०७९ बैशाख ८, बिहीबार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ