भारतले कटौती गर्दा नेपालका उद्योगमा लोडसेडिङ !


काठमाण्डाैं । भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस-युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिए । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।

‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हुन्छ भनेर जानकारी गराउँछौँ । यति–यति बजे काट्छौँ भन्न सक्दैनौँ, किनभने कति बिजुली ल्याउन सकिन्छ भन्ने टुङ्गो नै हुँदैन’, उनले भने ।

भारतको बिहार राज्यले चाँडै नै आपूर्ति मिलाउने आश्वासन दिएकाले केही दिनमै समस्या समाधान हुने घिसिङको भनाइ छ । केही दिनमा हिउँ पग्लिएर खोला नालामा पानीको बहाव बढ्ने भएकोले नेपालकै आन्तरिक उत्पादनले नै माग धान्न सक्ने कार्यकारी निर्देशक घिसिङले बताए ।

‘अहिले हामीलाई अपुग भनेको तीन सय मेगावाट हो । गएकाे वर्ष यो बेला दैनिक आठ सय मेगावाट बिजुली आयात भएको थियो । तर यो वर्ष माथिल्लो तामाकोसी आएकोले आयात घटेको छ र पिक ऊर्जाको व्यवस्थापन गर्न अत्यन्तै सुविधाजनक छ । पिकमा आयात कम गर्छाैं’, घिसिङले भने ।

प्रकाशित : २०७९ बैशाख १४, बुधबार १९:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ