जनकपुरका मेयर उम्मेदवारकै चुनाव चिन्ह गायब, आन्दोलन सुरु


जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको धनुषाको नमूना मतपत्रमा त्रुटि भेटिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका मेयरको स्वतन्त्र उम्मेदवार मनोज साहलाई निर्वाचन अधिकृतको कार्यालयले ‘घण्टाघर’ चुनाव चिन्ह प्रदान गरेको हो । तर आयोगले सार्वजनिक गरेको धनुषाको नमूना मतपत्रमा ‘घण्टाघर’ चुनाव चिन्ह नै समाविष्ट छैन् ।

आफ्नो चुनाव चिन्ह नै मतपत्रमा नराखेपछि स्वतन्त्र उम्मेदवार साह आन्दोलित भएका छन् । उम्मेदवार साह समर्थक सहित जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेका हुन् ।

उम्मेदवार साहले जनकपुरधाममा मेयर २८ जना उम्मेदवार रहेको र आफूसहित ११ उम्मेदवारको चुनाव चिन्ह नमूना मतपत्रमा नरहेको बताए । उनले चुनाव चिन्ह नै मतपत्रमा नराखेर राजनीतिक षड्यन्त्र गरेको आरोप लगाए ।

उनले भने, ‘नमूना मतपत्र सच्याउन आयोग र निर्वाचन अधिकृतलाई हिजैदेखि पटक पटक आग्रह गरेको छु । २४ घण्टा भयो तर नसच्याएपछि बाध्य भएर धर्ना बसेका छौं ।’ मतपत्र नसच्याएपछि धर्ना जारी राख्ने उनको भनाई छ ।

सत्ता गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेपछि आक्रोशित बनेका साह कांग्रेस नगर सभापतिबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका छन् ।

प्रकाशित : २०७९ बैशाख १९, सोमबार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ