कांग्रेस नेता विमलेन्द्र निधि आक्रोशित, जनकपुरको सभा बहिष्कार गर्ने


काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनावी सभाका लागि निर्वाचन परिचालन समितिले बनाएको सूचीमा आपत्ति जनाएका छन् ।

शीर्ष तहका नेताहरु देशका विभिन्न स्थानमा हुने चुनावी सभामा सहभागी हुने गरी परिचालन समितिले नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा निधिको नाम कहीं पनि उल्लेख छैन । जनकपुरको सभामा समेत उनको नाम समावेश गरिएको छैन ।

त्यसैले २४ वैशाख (आगामी शनिबार) धनुषामा हुने चुनावी सभा उनले बहिष्कार गर्ने भएका छन् । ‘पर्सि धनुषामा चुनावी सभा छ । विमलेन्द्र दाइ आउनुहुन्न’ धनुषा कांग्रेस उपसभापति गणेश झाले भने, ‘पार्टीले बनाएको नेताको लिष्टमा दाइको नाम नै छैन, लगायतका नेता लेखेर कहाँ हुन्छ ?’

परिचालन समितिले बनाएको सूचीमा सभामा सहभागी हुनेमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे, महेन्द्र यादवसहित भनिएको छ ।

निधिले ‘लगायतका अन्य वक्ताहरु’ भन्ने शब्दावलीमा असन्तुष्टि जनाएका छन् । उपसभापति भइसकेको व्यक्ति निधिको पनि नाम उल्लेख हुनुपर्ने झाले बताए । ‘जिल्लाका अरु कार्यक्रममा उहाँ धनुषामै हुनुहुन्छ’ उनले भने, ‘अरु अरु कार्यक्रममा जानुहुन्छ । सभामा दाइ जानुहुन्न ।’

नेताहरुकै गृह जिल्लामा समेत नाम उल्लेख नगरेकोमा आफूहरुको आपत्ति रहेको उनले बताए । चुनावी सभामा सहभागी हुने केन्द्रीय नेताहरुको सूची बनाउने क्रममा निधिसँग परिचालन समितिले कुनै छलफल समेत नगरेको झाले दाबी गरे ।

प्रकाशित : २०७९ बैशाख २२, बिहीबार १७:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ