सिरहामा माओवादीका बागी मेयर उम्मेदवार महतोसहित ६ नेता कारबाहीमा


जनकपुरधाम । नेकपा माओवादी केन्द्रले सिरहामा बागी उम्मेदवार बनेका रामचन्द्र महतो ‘कोइरी’सहित छ नेतालाई कारबाही गरेको छ ।

गोलबजार नगरपालिकामा माओवादीका बागी मेयर उम्मेदवार महतो, उपमेयर उम्मेदवार वास्ना मोक्तान, नेताहरू प्रवेश लामा, मनोज सिंह, कमल स्याइवो र पुजन सिंह कारबाहीमा परेका हुन् । माओवादी मधेस प्रदेशका इन्चार्ज गणेश शाहले विज्ञप्ती जारी गरेर उनीहरुलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको जनाएका छन् ।

गोलबजार नगर समिति, सिराहाबाट कारबाहीको लागि सिफारिस भई आएको र उनीहरुलाई पार्टी अनुशासन पालना नगरेको देखिएकोले पार्टी विधानको धारा ११ को दफा १ (ग) बमोजिम पार्टी केन्द्रको निर्देशन बमोजिम कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्धमा बागी उम्मेदवारी दिई तथा बागी उम्मेदवारलाई सहयोग गरी प्रतिगमनकारी शक्तिलाई सहयोग पुग्ने कार्य गरेको आरोप पनि लगाइएको छ ।

गोलबजार नगरपालिकामा माओवादीले निवर्तमान मेयर देवनाथ साहलाई नै पुन: उम्मेदवार बनाएका छन् । उनी माओवादी स्थायी कमिटी सदस्य विश्वनाथ साहका भाइ हुन् । उनलाई पावर र पहुंचको आधारमा पुन: टिकट दिएको भन्दै महतो प्यानल बनाएर बागी उम्मेदवारी दिएका छन् ।

प्रकाशित : २०७९ बैशाख २५, आईतवार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ