सुनसरीमा राति घरबाट बाहिर निस्कन किन निषेध गरियो ?


सुनसरी । जिल्लाका सात वटा संवेदनशील पालिकामा आज रातिदेखि भोलि बिहानसम्म एक्लै वा सामूहिक रूपमा घरबाट बाहिर निस्कन सर्वसाधारणलाई निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीवार एक आदेश जारी गरी निर्वाचन सुरक्षा संवेदनशीलता र आचारसंहितालाई मध्यनजर गरी बिहीवार बेलुकी ८ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनेको छ।

प्रशासनका अनुसार सुनसरीको झोेक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरि त्यस्तो आदेश जारी भएको हो । ती पालिका भारतसँग सीमा जोडिएका क्षेत्र हुन् ।

त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नं ३, इनरुवा नगरपालिकाको वडा नं ३ ,९ र १० र दुहबी नगरपालिकाको वडा नं १ , ८ र ९ मा पनि सुरक्षा निकायलाई समन्वय नगरी घर बाहिर ननिस्कन प्रशासनले आदेश जारी गरेको छ।

उक्त आदेश अटेर गरे वा उल्लङ्घन र गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रवार हुने चुनावका विषयलाई लिएर विभिन्न पक्षबीच झडप हुने स्थिति आकलन गरिएकाले ती क्षेत्रमा आवागमनमा कडाइ गरिएको बताए ।

प्रकाशित : २०७९ बैशाख २९, बिहीबार १६:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ