रोचक : वीरगन्जमा उपमेयरले पाएको मतभन्दा बदर मत बढी


वीरगन्ज । वीरगन्ज महानगरपालिकाको वडा नं. १, २, ३१ र ३२ को मतगणना अहिले पिप्रास्थित श्री नृसिंह माविमा भइरहेको छ ।

आइतबार मध्यान्हसम्म गणना भएको ३ हजार ५ सय ७९ मतमध्ये उपमेयरमा सदर मतभन्दा बदर बढी भेटिएको छ । मुख्य निर्वाचन अधिकृतले उपलब्ध गराएको विवरणअनुसार तीन हजार ५ सय ७९ मध्ये एक हजार ७०६ मत सदर भएको छ भने एक हजार ८ सय ७३ मत बदर भएको छ ।

पाँच दलीय गठबन्धनबाट उपमेयरका उम्मेदवार कांग्रेसका इम्तियाज आलमले सर्वाधिक एक हजार तीन सय ३७ मत प्राप्त गरेका छन् । एमाले–लोकतान्त्रिक समाजवादी गठबन्धनका उम्मेदवार पुरुषोत्तमलाल झाले एक सय ८३ मत पाएका छन् ।

उपमेयरकी स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले एक सय २ मत ल्याएकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कुल गणना भएको तीन हजार ५ सय ७९ मतमध्ये उपमेयर पदमा एक हजार ७०६ मत मात्र सदर भएको छ । एक हजार ८ सय ७३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मेयर पदमा भने बदर मतको संख्या उपमेयरको तुलनामा कम देखिएको छ । मेयर पदमा गणना भएको तीन हजार ५ सय ७९ मत मध्ये ९ सय ३१ मत मात्र बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जनाए ।

२ हजार ६ सय ४८ सदर मतमध्ये ५ दलीय गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ८ सय १० मत हासिल गरेका छन् । एमाले–लोसपा गठबन्धनका विजयकुमार सरावगीले ७ सय ४७ मत ल्याएका छन् । राप्रपाका गिरीश गिरीले ४५ मत प्राप्त गरेका छन् ।

मेयर/उपमेयरमा दलहरुले गठबन्धन गरे पनि वडास्तरमा आ–आफ्ना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेका थिए । पार्टीका वडाध्यक्षले आफ्ना मतदातालाई सेट मै ७ छापमा हाल्न आग्रह गरेका थिए ।

‘निरक्षर मतदातालाई मेयर/उपमेयरमा अर्को छापमा र फेरि वडाध्यक्ष, सदस्यमा आफ्नो छापमा मोहर लगाउन सिकाउन गाह्रो पर्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक उम्मेदवार भन्छन्, ‘आफ्नै भोट तल माथि होला कि भनेर गठबन्धनमा भए पनि अधिकांश वडाध्यक्षले ‘रिस्क’ लिएनन् ।’

निर्वाचन कार्यालयले यसपटक मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको थिएन । वीरगन्ज महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले निर्वाचन आयोगले पहिला पहिला मतदाता शिक्षा ल्याएपनि यसपटक कुनै कार्यक्रम नल्याएको बताउँछन् ।

‘यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा ल्याएन,’ उनले भने, ‘उम्मेदवार, उनका प्रतिनिधि र उम्मेदवारका एजेन्टले मतदातालाई शिक्षा दिए होलान् । यसरी छाप लगाउनु भनेर प्रशिक्षण दिएका होलान् । तर, त्यो प्रभावकारी हुन सकेन । बदर मतको अनुपात देखेर हामी पनि छक्क परेका छौँ । यो मतदाता शिक्षा कै अभाव हो ।’

प्रकाशित : २०७९ जेष्ठ १, आईतवार २२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ