मोदी आज बुद्ध जन्मस्थल लुम्बिनी आउँदै, यस्तो छ विशेष तयारी


लुम्बिनी । भारतका प्र्रधानमन्त्री नरेन्द्र मोदीसित लुम्बिनीमा भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै यहाँ आएका छन् । उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् ।

आइतबार कुनै औपचारिक कार्यक्रम नभएपछि ‘रात बिताउन’ प्रधानमन्त्री देउवा यहाँ आएको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति आइपुगेका हुन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा यहाँ उत्रिनेछन् । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

दुवै मुलुकका प्रधानमन्त्री समारोहमा सहभागी हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यहाँ आएका सबै सुरक्षा निकाय प्रमुखले आइतबार कार्यक्रम स्थल र आसपासको तयारी अवलोकन गरेका थिए ।

प्रधानमन्त्री मोदीको भ्रमण र सुरक्षा व्यवस्थापनका लागि भारतबाट ‘स्पेसल प्रोटेक्सन गार्ड’ (एसपीजी) एक साता अघि आएका थिए । सुरक्षालाई ध्यान दिएर बुद्ध जयन्ती समारोहमा पाहुनाको प्रवेशलाई कडाइ गरिएको छ ।

सुरुमा तीन हजारलाई सहभागी गराउने भनिएकामा अहिले संख्या घटाइएको लुम्बिनी विकास कोषले जनाएको छ । समारोह भने पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा हुनेछ ।

सभाहललाई चिटिक्क बनाइएको छ । प्रधानमन्त्री मोदी सवार हेलिकोप्टर सोमबार बिहान सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिनेछ । यसअघि नेपाली प्राविधिकले हेलिप्याड निर्माण गरेका थिए ।

अवलोकनका लागि आएका भारतीय प्राविधिकले चित्त नबुझाएपछि पटक-पटक हेलिप्याड मर्मत गरिएको थियो । मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्नेछन् ।

उक्त होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षरको कार्यक्रम छ । यसअघि सन् २०१४ डिसेम्बर १० मा प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने तय भएको थियो । यहाँ सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम चरणमा उक्त भ्रमण रद्द भएको थियो ।

यसपटक भ्रमण सफल हुने भएपछि यहाँका पर्यटन व्यवसायी र बौद्ध धर्मावलम्बी लुम्बिनीको प्रवर्द्धन हुने विश्वासले उत्साहित छन् । यहाँ आयोजना गरिने कार्यक्रममा बौद्ध धर्मका प्रमुख भिक्षु, भिक्षुणी र लामा गुरुको सहभागिता रहने भएको छ ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ