तराई-मधेश भित्र्दै भारतीय पर्व


जनकपुरधाम, २ कार्तिक। भारतमा मात्र मनाइने ‘करबा चौथ’ ब्रत नेपालमा पनि मनाउने क्रम बढेको छ । नेपालको तराई-मधेशका महिलाहरु यो पर्व मनाउन थालेका छन् । आफ्ना पतिको लामो आयु र समृद्विको कामना गर्दै भारतको राजस्थान, पञ्जाव, उत्तर प्रदेशसहितका ठाउँमा यो पर्व यसअघि मनाइँदै आएकोमा पछिल्लो समयमा तराई-मधेशका जिल्लाहरुमा पनि यो पर्व मनाउने चलन बढ्दै गएको छ ।

यस पटकको करुवा चौथ ब्रत असोज ३० गते मनाइएको छ । र, यो पर्व मनाएको भन्दै सामाजिक संजालमा फोटो पोष्ट गर्ने महिलाहरुको संख्या धेरै देखिएको छ । भारतमा मात्रै मनाइने यो पर्व एक्कासी नेपालमा मनाउन थालिएपछि यसलाई अर्काको संस्कृति भित्र्याइएको भन्दै बहस पनि शुरु भएको छ । यसले मैथिल संस्कृति लोप हुने सम्भावना बढेको मैथिलकर्मीहरु बताउँछन् ।

भारतका केहि ठाउँमा मात्रै मनाइने यो पर्व नेपालमा कसरी मनाउन थालिएको भन्ने सन्दर्भमा कुनै जानकारी छैन् । यद्यपी भारतीय फिल्महरुले पारेको प्रभावले यो पर्व मनाउन शुरु भएको धेरैको अनुभव छ । मैथिलकर्मी बिनयकुमार लाल कर्ण भारतीय फिल्म हेरेर यो पर्व मनाउन शुरु गरिएको बताउँछन् ।

संचारकर्मी समेत रहेका कर्ण भारतीय फिल्म हेरेरै दिदी बहिनीले दाजुभाईलाई राखी बाँध्ने गरेको चलन झैं करुवा चौथ पर्व पनि फिल्मकै कारण विस्तार भइरहेको बताउँछन् । मैथिल महासंघ नेपालका अध्यक्ष बिष्णु मण्डल यो पर्व मिथिलाको संस्कृति नभएको दावी गर्छन् । ‘म दावीसाथ भन्न चाहन्छु, यो पर्व मिथिला संस्कृतिको हुँदै होइन’ उनले भने, “यो एउटा फेसनको रुपमा आएको छ, चुन चिन्ताको बिषय हो ।”

उनी दिनभरी उपवास बसेर साँझ चन्द्रमा उदाएपछि दर्शन गरी मनाइने पर्व मिथिला क्षेत्रमा चोरचन परापूर्वकालदेखि मनाइँदै आएको बताए । उनले चन्द्रमाको दर्शन गरी पूजापाठ गरेर चौरचन पर्व मनाइँदै आएको बताए । ‘चोरचन पर्वका दिन महिलाहरु दिनभर उपवास बस्दै आएको छन् । र, यस दिन गणेशकै पूजा गर्छन्’ मण्डल भन्छन्, “चोरचन पर्व मिथिलाको संस्कृति हुँदाहुँदै यस्तै प्रकृतिको अन्य पर्व भित्र्याउनु ठीक होइन् ।”

भोजपुरी र हिन्दी गीत, संगीतले मैथिली गीत, संगीतलाई कमजोर बनाउन खोजिए झैं यो पर्वले पनि मैथिली संस्कृतिलाई कमजोर बनाउन खोजिएको उनको भनाई छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत मैथिली विभागका पूर्व प्रमुख परमेश्वर कापडि पनि यो पर्व मैथिली संस्कृति नभएको बताउँछन् । यद्यपी उनी हिन्दू संस्कृति भएको बताउँदै भन्छन्, “हिन्दू संस्कृति क्षेत्रको व्याप्कता बनाउन यो पर्व मनाउन शुरु गरिएको हुन सक्छ ।”

उनी सामाजिक संजाल र फिल्ममा हेरेर देखासिकीले यो पर्व मनाउन शुरु गरिएको हुन सक्ने बताउँछन् । ‘पतिलाई परमेश्वर मान्दै आरोग्यको कामना गरिन्छ त्यहीं भएर मनाएको हुनुपर्छ’ उनी भन्छन् ।करुवा चौथमा दिनभर उपवास बसेर महिलाले राति चन्द्रमा उदाएपछि चलनी मार्फत् आफ्ना पतिको मुख हेरेर पतिकै हातबाट पानी पिएर यो पर्व मनाउने गर्छिन् । –यो खबर आजको जनकपुर टुडेमा पत्रिकामा छापिएको छ ।

प्रकाशित : २०७६ कार्तिक २, शनिबार ०१:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ