विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा २ जनाको मृत्यु, १३ घाइते


सल्यान । विजय जुलुस निकालेका बेला ना ५ ख ८०६० नम्बरको बसको छतमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

कांग्रेस र एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस निकालिएको थियो ।

कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट गाउँपालिकाको कार्यालयमा जाने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा कुमाख गाउँपालिका ४ का २६ वर्षीय लोकेन्द्र राना र २३ वर्षीय गोपाल बुढाथोकी छन् ।

करेन्ट लागेर सोही स्थानका नविन रावत, विनोद बुढाथोकी लगायत १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रनाउ सुमित खड्काका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका सबैलाई उपचारको लागि मिसन अस्पताल चौरजहारी लगिएको छ।

कुमाख गाउँपालिका ४ बस्नेतज्युलाबाट पालिकाको कार्यालय आउदै गर्दा कुमाख गाउँपालिका-१ शान्तिबजारमा बसको छतमा उभिएकालाई करेन्ट लागेको थियो ।

घाइते भएका दुईजना बाहेक अन्यको नाम खुल्न बाँकी छ । थप विवरण आउन बाँकी रहेको डीएसपी खड्काले जानकारी गराए ।

बसमा सवार धेरै भएपनि छतमा बसेकालाई मात्र करेन्ट लागेको गाडीमा सवार ठगेन्द्र चन्दले बताए । घाइते सबैलाई सोही बसमा राखेर उपचारको लागि मिसन अस्पताल चौरजहारीमा लगिएको उनको भनाइ छ ।

प्रकाशित : २०७९ जेष्ठ २, सोमबार १८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ