लहान नगरपालिकामा काँग्रेसको ‘ह्याट्रिक’


धर्मेन्द्र पासवान, लहान । मधेश आन्दोलनको उद्गम स्थल सिरहाको लहान नगरपालिकामा स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले ‘ह्याट्रिक’ हानेको छ ।

देश भरिमै नगरपालिकाहरु मध्येमा सबैभन्दा बढी २४ वटा वडा रहेको लहान नगरपालिकामा १५ वटा वडाहरुको मत परिणाम मात्र आउँदा पनि नगर प्रमुख पदमा नेपाली कांग्रेसका प्रमुख (मेयर) पदका उम्मेदवार महेश प्रसाद चौधरी जित नजिक पुगेको देखिन्छ ।

यता भने १५ वटा मध्ये नेपाली कांग्रेस एक्लैले १३ वटा वडामा जीत हात पारेको छ । वडा नं-४ र १० बाहेक लहान नगरपालिकामा १, २, ३, ५, ६, ७, ८, ९, ११, १२, १३ र १६ वडामा सहज जित हात पार्न सफल भएका छन् ।

विगत २०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ९ वटा वडा जितेर नेकपा एमालेलाई कडा टक्कर दिएको भएपनि प्रमुख र उप-प्रमुख पद आफ्नो कोल्टामा पार्न सफल हुन सकेको थिएन ।

यसपालीको चुनावमा भने नेपाली कांग्रेसले एमालेका गढ मानिएका वडा नं- ५ र वडा नं-११ मा पनि जित्न सफल भएको छ । वडा नं-५ मा लहान नगरपालिकाका निवर्तमान प्रमुखको घर भएको वडा हो भने ११ नं- नेकपा एमालेका नगर सभापतिको घर हो । गत स्थानीय तहको चुनावमा ती दुबै वडामा एमालेले जित हात पारेको थियो ।

स्थानीय तह २०७९ को निर्वाचन सम्पन्न हुनुभन्दा पहिले राजनीतिक विश्लेषकहरुले लहान नगरपालिकामा एमाले र नेपाली कांग्रेसबीच भीडन्त हुने अनुमान गरिएको भएतापनि कांग्रेसले जितेकाअ वडाहरुमा प्यानल सहित सहज जित भएको छ ।

यस अघि एमालेबाट मुनि साहले ११ हजार ३०१ मत ल्याएर नगर प्रमुख पद हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अच्मितलाल चौधरीले ९ हजार १३१ मत ल्याएका थिए ।

कोरोनाको कहरका बेला दलित, विपन्न, सुकुम्बासीबस्तीमा गएर पटक पटक राहत वितरण गरेर समाजसेवीका रुपमा चिनिएका महेश चौधरी र संगीता कर्मचार्यको जोडी विपन्न समुदायका लागि प्यारो भएका थिए । राहत वितरण गर्दा गर्दै कोरोना लागेर संगीता कर्मचार्यको मृत्यु भएपछि उनलाई लहानबासीले सामाजिक शहिदको दर्जा दिएका छन् ।

उनै सामाजिक शहिद कर्मचार्यका श्रीमान् महेश चौधरी नेपाली कांग्रेसबाट मेयरका दावेदार भएकाले सबै परिवारलाई महेश चौधरीले कोरोनाका बेला राहत र जाडोका बेला कम्मल वितरण गरेकाले दलित गरिबको मुखमुखमा महेश चौधरीको सुनिदैं आएको थियो ।

महेश चौधरी २०४९ सालमा विद्यार्थी राजनीति गरेर नेविसंघबाट स्थानीय लहान क्याम्पसमा स्ववियू सभापति भएका थिए । उनी नेपाली कांग्रेस लहान नगरसमितिको सभापतिमा दुईपटक र यसपटक सिरहा जिल्लाको संघीय क्षेत्र नं. १ को क्षेत्रीय सभापति समेत हुन् ।

समाजसेवाबाट नै चर्चित भएका चौधरीले निर्वाचित भइसकेपछि नगरपालिका भित्र स्वास्थ्य, शिक्षा, भ्रष्टाचारमुक्त र रोजगारलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।

प्रकाशित : २०७९ जेष्ठ ४, बुधबार १९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ