सप्तरीमा विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको अचानक मृत्यु


राजविराज । शपथ ग्रहण गर्न नपाउँदै सप्तरीमा नवनिर्वाचित राजगढ गाउँपालिकाका वडा सदस्यको शुक्रबार मृत्यु भएको छ ।

राजगढ गाउँपालिका ५ धौनकी टोलका ६९ वर्षीय राजेन्द्र सुतिहारको अचानक मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

विजय पश्चात खुशी देखिएका सुतिहार गाउँको विकासका लागि अत्यन्त उत्साहित थिएँ । ‘उनको अधुरो सपना बाँकी जनप्रतिनिधीले पुरा गर्नुपर्छ,’ राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले भने, ‘विजयपछि उनले बुनेका सपनाहरू सुनाएका थिए र मिलेर गाउँको विकास गर्नुपर्छ भनेर योजनाहरू सुनाएका थिए ।’

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका वडा नम्बर ५ को वडा सदस्यमा जसपाको तर्फबाट उम्मेदवार रही विजयी भएका हुन् । निर्वाचित हुने दुई वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर सुतिहार निर्वाचित भएका हुन् ।

एमालेका उम्मेदवारलाई पराजित गर्दै वडा नम्बर ५ मा प्यानलसहित जसपाको जितमा उनी र हरी मण्डल निर्वाचित भए ।

मतपरिणाम सार्वजनिक भएपछि बिहीबार सँगै खुसीयालीसाथ विजय जुलुस मनाएर घर फर्किएका उनी खाना खाएर सुतेको तर बिहान घरमै मृत्यु भएको अवस्थामा फेला परेको स्थानीय किसुन साह बताउँछन् ।

प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार ११:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ